सुशोभन समारोहमा प्रधानमन्त्री अनुपस्थित

159
  •  
  •  
  •  

काठमाडौं ८ बैशाख ।
राष्ट्रपति डा. रामवरण यादवले गत वर्ष गणतन्त्र दिवसका अवसरमा घोषणा गरिएका मानपदवीबाट विभूषित हुने राष्ट्रिय जीवनका विशिष्ट व्यक्तित्व, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिलाई सोमबार सुशोभन गरेका छन्।

सो राजकीय समारोहमा प्रधानमन्त्री सुशील कोइराला भने अनुपस्थित भए। प्रधानमन्त्री कार्यालय स्रोतले प्रमुख तीन दलबीच निर्णायक वार्ता भएकाले कोइराला सुशोभन समारोहमा जान नसके को बतायो।

पटकपटक मिति सारेको विभूषण सामारोह झन्डै साढे १० महिनापछि सोमबार सम्पन्न भएको हो।
पदक वितरण समारोहमा उपराष्ट्रमन्त्री परमानन्द झा, प्रधानन्यायाधीश रामकुमार साह, संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ, संवैधानिक अंगका प्रमुखलगायतको उपस्थिति थियो।

प्रबल जनसेवा श्री चौथोबाट विभूषित समाजसेवी १०२ वर्षीय लालबहादुर गुरुङले भने, ‘१०१ वर्ष हुँदा घोषणा गरिएको पदकबाट १०२ वर्षमा प्रवेश गर्दा सुशोभित भएँ।’

गायिका कोमल ओलीले राष्ट्राध्यक्षबाट प्रदान गरिने पदक वितरण समारोहमा प्रधानमन्त्री नभएकोमा आफूलाई कुनै गुनासो नभएको बताइन्।

उज्ज्वल कीर्तिमय राष्ट्रदीप (द्वितीय) बाट विभूषित प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले यस्तो पदक समाजमा महत्त्वपूर्ण योगदान दिने र वस्तुनिष्ठ सेवा पुर्‍याउने व्यक्तिलाई दिनु उपयुक्त हुने बताए।

शीतल निवासमा आयोजित समारोहमा ‘नेपालरत्‍न ‘ पदवी पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई (मरणोपरान्त) प्रदान गरिएको थियो। कोइरालाका तर्फबाट उनका छोरी सुजाता कोइरालाले सो पदवी ग्रहण गरेकी थिइन्।

गिरिजाप्रसादलाई शान्तिप्रक्रियाको थालनी र लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सो पदक दिएको थियो।

कांग्रेस नेत्री सुजाताले मरणोपरान्त आफ्नो बाबुले पाएको पद लिन पाउँदा आफू अत्यन्त हर्षित भएको बताइन्। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •