बैशाखभित्रै सहमति जुट्छ : प्रधानमन्त्री

192
  •  
  •  
  •  

काठमाडौ, २ बैशाख (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले दलहरुबीचको वार्ता सकारात्मक भएको भन्दै बैशाख महिनाभित्रै विवादित विषयमा सहमति जुट्ने दाबी गरेका छन् ।

राजधानीमा बुधबार भएको पाँचौं राष्ट्रिय ललितकला प्रदर्शनीको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले वैशाखभित्रै संविधानका विवादित विषयमा दलहरूबीच सहमति जुट्ने दाबी गरेका हुन् ।

उनले संविधान लेखन प्रक्रियामा जति विलम्ब भयो त्यति नै मुलुकमा अस्थिरता र अराजकता बढ्ने भएकाले यथाशक्य चाँडो सहमतिमा पुग्नुपर्ने बताए ।

प्रधानमन्त्री कोइरालाले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्को ध्यान नेपालको संविधान लेखन प्रक्रियामा रहेकाले जिम्मेवारीपूर्वक सबै राजनीतिक दल लागि परेको बताए ।

कार्यक्रममा वरिष्ठ चित्रकार मनोजबाबु मिश्र र प्रेममान चित्रकारलाई एक लाख नगदसहित सम्मान गरिएको थियो । यसैगरी, चित्रकलाका विभिन्न विधामा योगदान पुर्याउने दुई दर्जनभन्दा बढी चित्रकारलाई नगद र कदरपत्रसहित सम्मान गरिएको थियो ।


  •  
  •  
  •