प्रधानमन्त्रीले भने- ‘वार्ताकाे वातावरणा बनाउन तयार छु’

149
  •  
  •  
  •  

काठमाडौं १७ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले सहमतिबाटै समाधान खोज्न तयार रहेको बताएका छन् । एमाओवादीसहितको विपक्षी मोर्चाले ‘शक्ति प्रदर्शन’ र सभामार्फत सहमतिको ढोका खोल्न आग्रह गरेकै दिन शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कोइरालाले भने, ‘संवाद र छलफलबाट नै सबै समस्याको निदान खोज्न म तयार छु । यसैबाट समाधान निस्कन्छ ।’ नेपालगन्जको अन्तराल समूहले गरेको बीपीका ऐतिहासिक फोटो प्रदर्शनी यात्राको उद्घाटन गर्दै प्रधानमन्त्रीले अनौपचारिक तहमा वार्ता भएको पनि बताए ।

यसैबीच विपक्षी मोर्चालेे ‘संविधानका मुख्य विवादित विषयमा संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा राजनीतिक सहमति समितिमार्फत नै समझदारी गर्नुपर्ने’ भनी राखेको मागप्रति सत्तापक्षका नेताहरूले तयार रहेको बताएका छन् । ‘सहमति मुख्य कुरा हो, कहाँबाट गर्ने भन्ने विषय गौण हो,’ एमाले उपमहासचिव विष्णु पौडेलले भने, ‘महत्त्वपूर्ण कुरा सहमति हुन्छ कि हुँदैन भन्ने हो ।’

कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले सहमति जहाँ भए पनि जाने बाटो संवाद समितिमार्फत नै रहेको बताए । ‘संवाद समिति विघटन भएको छैन, सभापतिले बैठक बोलाएमा बोलाउन पाइँदैन भन्ने हुँदैन,’ उनले भने, ‘मुख्य कुरा सहमति हो । सहमति भएमा संवाद समितिको बाटो भएरै सबै विषय मस्यौदा समितिमा जाने हो ।’

संविधानसभाको जारी प्रक्रिया स्थगित गरेर पटक-पटक वार्ताका लागि आह्वान भइसकेकाले विपक्षी मोर्चा तत्कालै वार्तामा बस्ने सक्ने विश्वास खड्काले व्यक्त गरे । विपक्षी मोर्चाले संविधानका विवादित विषयमा प्रश्नावली बनाउन गठन गरिएको प्रस्ताव समिति विघटनको माग राख्दै आएका छन । ‘प्रस्ताव समितिले प्रश्नावलीको काम गरी संविधानसभाले अनुमोदन गरिसकेको अवस्थामा यस्तो मागको कुनै औचित्य छैन,’ उनले भने ।
कान्तिपुरबाट


  •  
  •  
  •