प्रधानमन्त्रीले भने : आन्दोलन र तोडफोडबाट मुलुकलाई बचाउँनुहोस्

108
  •  
  •  
  •  

बैरेनी, धादिङ्ग, १० फागुन (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले शान्ति स्थापना गर्न तरुण युवाहरुको काँधमा जिम्मेवारी आएको बताउदै आन्दोलनबाट मुलुकलाई बचाउँन आग्रह गरेका छन् ।

आइतबार विहान धादिङ्गको बैरेनीमा गणेशमान जन्मशताब्दीका अवसरमा नेपाली कांग्रेस धादिङ्गद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालाले भने, ‘आन्दोलन र तोडफोडबाट मुलुकलाई बचाउँनुहोस् । शान्ति दिनुस्, हामी बिकास दिन्छौ । त्यसमा अन्तर पर्ने छैन ।”

प्रधानमन्त्री कोइरालाले मुलुकमा शान्ति, स्थिरता, अमनचयन, रोजगारी, लोकतान्त्रिक शासन पद्धति, लोकतान्त्रिक संविधान र विकास चाहिएको बताउँदै भने “ नेपाल विकासको युगमा प्रवेश गरेको छ । मुलुकमा विकासको लहर आएको छ । लगानीकर्ता लाम लागेका छन ।”

प्रधानमन्त्री कोइरालाले मुलुकका अपार प्राकृतिक सम्पदाको सदुपयोग गर्न नसकिएकोले मुलुकको विकास नभएको प्रष्ट पारे । उनले मुुलुकका शान्ति र स्थायित्व कायम भए अब नेपालमा नै रोजगारीको सिर्जना हुने र विदेशिएका ३० देखि ३५ लाख नेपालीलाई पनि स्वदेशमा नै रोजगारी दिन सकिने बताए ।

कार्यक्रममा प्रधानमन्त्री कोइरालाले संघीय गणतन्त्रात्म लोकतान्त्रिक संविधान आउनेमा कुनै सन्देह नरहेको बताउदै अघि भने, “ माघ ८ मा संविधान ल्याउने सबैको प्रतिबद्धता थियो । किन आउन सकेन सबैलाई थाहा भैसक्यो, अब संविधान आउ, आउछ । ”

सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह प्रजातन्त्र, जनता र मुलुकका प्रति गरेको बताउँदै बलिदान सबै नेपालीको लागि प्रेरणादायी हुन सकोस भनेर नेपाली कांग्रेसले जन्म शताब्दीका अवसरमा गणेशमान बलिदान पदयात्रा आयोजना गरेको बताए ।

कार्यक्रममा अर्थमन्त्री डा. रामशरण महत तथा वन तथा भू–संरक्षण मन्त्री महेश आचार्य पनि गणेशमानको योगदानको चर्चा गरेका थिए ।


  •  
  •  
  •