कोइराला-दाहालबीच फोन वार्ता

60
  •  
  •  
  •  

काठमाडौं २७ माघ ।  एमाओवादीसहित विपक्षी मोर्चा प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि गरेको आहवानप्रति नरम देखिएको छ । विपक्षी मोर्चाको सोमबारको बैठकले प्रधानमन्त्रीको आहवानलाई सकारात्मक रूपमा लिँदै अझ विश्वसनीय वातावरण बनाउन आग्रह गरेको छ ।

विपक्षी मोर्चाले जनआन्दोलनका सहयात्री दलहरू मिलेर विगतमा भएका विस्तृत शान्ति सम्झौतालगायत सहमतिका आधारमा संविधान जारी गर्नेबारे अझै स्पष्ट गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । मोर्चाको तर्फबाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले वार्ताका लागि अझै वातावरण बनाउन आग्रह गरेपछि प्रधानमन्त्रीले उनलाई फोन गरी वार्ता सुरु गर्न पुनः आग्रह गरेका छन् ।

‘सहमतिका लागि अब वार्ता सुरु गर्नुपर्‍यो,’ कोइरालाले सोमबार बेलुका फोनमा दाहाललाई भनेे, ‘छलफलबाटै सहमतिको बाटो खोजांै ।’ दाहालले वार्ताका लागि पहल गरेकोमा कोइरालालाई धन्यवाद दिएका थिए । ‘हाम्रो मागलाई चासो राखी वार्ताका लागि पहल गरेकोमा धन्यवाद छ,’ दाहालले कोइरालालाई भने, ‘वार्ताका लागि वातावरण बनाउनुस्, तपाइर्ंको पहललाई हामीले सकारात्मक भनिसकेका छौं ।’

दाहालले संविधानसभामा अघि बढेको बहुमतीय प्रक्रियालाई तरबारको संज्ञा दिँदै त्यसलाई हटाउन आग्रह गरे । ‘हामीमाथि झुन्ड्याइदिएको बहुमतको तरबार हटाइदिनुस्, हामी वार्ताका लागि जतिबेला पनि तयार छौं,’ उनको आग्रह थियो । प्रधानमन्त्रीले आन्दोलन स्थगन गर्न दाहाललाई आग्रह गरेका थिए ।

आन्दोलन स्थगन नगरे पनि सत्तापक्ष र विपक्षीसँग वार्ता जारी रहने छ । सत्तापक्षले वार्ताको वातावरण बनाउने जिम्मा प्रधानमन्त्रीलाई दिएको थियो । दाहाल र कोइरालाबीच चार पटक टेलिफोन र एक पटक भेटेर संवाद भइसकेको छ । प्रधानमन्त्री कोइरालाले वार्ताका लागि वातावरण बनाउन दोस्रो तहका नेतालाई खटाएका छन् । उनीहरूले विपक्षी मोर्चाका नेतासँग अनौपचारिक छलफल सुरु गरेका छन् ।

विपक्षी मोर्चाको सोमबार बिहान सिंहदरबारमा बसेको बैठकले सीधै वार्तामा नबस्ने शब्द उल्लेख नगरी नरम भाषा प्रयोग गरेको छ । प्रधानमन्त्रीको लिखित आहवानको व्याख्या गर्दै एमाओवादी अध्यक्ष दाहालले जारी गरेको विज्ञप्तिमा सार्थक एवं परिणाममुखी विश्वसनीय वातावरण बनाउन पुनः आहवान गरेका छन् । ‘प्रधानमन्त्रीको आशय बहुमतीय प्रक्रिया रोक्ने र १२ बुँदे समझदारी, विस्तृत शान्ति समझौता एवं अन्तरिम संविधानको मर्म र भावनाअनुसार जनआन्दोलन तथा शान्ति प्रक्रियाका सहयात्रीहरू, ऐतिहासिक सम्झौताका पक्ष शक्तिहरूसँग सहमतिका आधारमा संविधान निर्माण गर्ने भन्ने हो भने यसलाई हामी सकारात्मक रूपमा लिन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘तर प्रधानमन्त्रीको वक्तव्यमा यी कुरा स्पष्ट छैनन्, त्यसअनुसारको प्रतिबद्धता छैन । त्यसैले प्रधानमन्त्रीको यो वक्तव्यले परिवर्तनका उपलब्धिहरू संस्थागत गर्ने गरी सहमतिको वातावरण बनाउन सकेको छैन ।’

सहमतिका आधारमा संविधान जारी गर्ने प्रतिबद्धता कुनै न कुनै रूपमा नआउँदासम्म एमाओवादीसहितको विपक्षी मोर्चाले आन्दोलन स्थगन गर्ने गाह्रो छ । त्यो वातावरण नबनेसम्म आन्दोलन फिर्ता नलिने उसले जनाएको छ । ‘सहमतिका आधारमा संविधान निर्माण गर्ने वार्ताको विश्वसनीय एवं सुनिश्चित वातावरण नबन्दासम्म घोषित आन्दोलन जारी नै रहने कुरा स्पष्ट गर्न चाहन्छौं,’ दाहालले भनेका छन् ।

एमाओवादी सचिव वर्षमान पुनले विश्वसनीय वातावरण नभएसम्म वार्तामा नजाने बताए । ‘यही अवस्थामा वार्तामा जान सकिँदैन, सहमतिमा संविधान निर्माण गर्न आन्दोलनमा गएको हो । त्यो सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहन्छ,’ उनले भने, ‘सार्थक वार्ताका लागि हामी तयार नै छौं ।’

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष जितेन्द्र देवले दलहरूबीच गतिरोध भएको दुई सातापछि प्रधानमन्त्रीको पहललाई मोर्चाले सकारात्मक रूपमा लिए पनि ठोस आधार बनिनसकेको बताए । ‘प्रधानमन्त्रीले अझै स्पष्ट गर्नुपर्ने देखिन्छ,’ उनको भनाइ छ । विपक्षी मोर्चामा रहेको अर्को दल संघीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठले प्रधानमन्त्रीले माघ ५ गतेको विन्दुबाट अघि बढ्ने कुराको आधार नभएको जनाए ।

‘माघ ५ गते सहमति भएको भन्ने कुरा गलत हो,’ उनल भने, ‘माघ ५ गते आएको प्रस्ताव सत्तापक्षको थियो ।’ मोर्चाको बैठकमा एमाओवादी अध्यक्ष दाहालले मधेसको कार्यक्रमबाट आफू उत्साहित भएको बताएका थिए । उनले सत्तापक्षबाट आन्दोलन तुहाउने नीति लिएको भन्दै वार्ताका लागि विश्वसनीय वातावरण बनाउन दबाब आवश्यक भएको बताएका थिए ।
कान्तिपुरबाट


  •  
  •  
  •