विपक्षीलाई वार्तामा बस्न आह्वान गर्दै प्रधानमन्त्रीले पठाए पत्र (पूर्णपाठ सहित)

185
  •  
  •  
  •  

काठमाडौं, २५ माघ (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले सहमतिबाटै संविधान जारी गर्ने प्रतिवद्धतासहित लिखित वक्तव्य निकालेका छन् ।

प्रधानमन्त्रीले संविधान जनताको चाहाना भएकोले जारी संविधान निर्माण प्रक्रियालाई अब ढिला गर्न नहुने वक्तव्यमा उल्लेख गरेका छन् ।

विपक्षीलाई संविधान निर्माण प्रक्रिया अलग नहुन आग्रह गर्दै विगतका शक्तिहरुबीच सार्थक वार्ता सुरु गर्न आग्रह गरेका छन् ।

एमाओवादी नेतृत्वले विपक्षी मोर्चा संविधान निर्माणबाट अलग हुँदै प्रक्रिया स्थगित नगरि वार्ता नगर्ने अडान लिएपछि प्रधानमन्त्रीले औपचारिक रुपमा वाताको लागि आह्वान गरेका हुन् ।

वक्तव्यको पूर्णपाठ :- 

वार्ताको लागि आह्वान

आफूले चुनेका प्रतिनिधिद्वारा निर्मित संविधानको आधारमा देशको शासन सञ्चालन गर्ने नेपाली जनताको २००७ सालदेखिको चाहना अझै अधूरै छ । त्यसमाथि विगत केही समयदेखि कायम रहेको सङ्क्रमणकाल लम्बिदै जाँदा मुलुक र जनताले हासिल गर्न सक्ने आर्थिक समृद्धिको संभावना समेत अन्योलमा परिरहेको छ ।

देशका जिम्मेवार राजनीतिक दल र व्यक्तिहरुले यस्तो अवस्थालाई जति सक्दो छिटो अन्त्य गरी देशलाई निकास र जनतालाई विकास दिन अग्रसर हुनुपर्र्ने छ । तसर्थ चालु संविधान निर्माण प्रक्रियालाई अब कति पनि ढिला हुन दिनु हुँदैन ।

यस प्रसङ्गमा प्रमुख प्रतिपक्षी दल ए.ने.क.पा.माओवादी तथा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतका राजनीतिक दलहरु संविधान निर्माणको प्रक्रियाबाट अलग रहेर आन्दोलनको कुरा गरिरहेको अवस्था छ । म संविधानसभामा रहेका सबै राजनीतिक दल र तिनका नेताहरुलाई आह्वान गर्न चाहन्छु– आफ्नो राष्ट्र र जनताप्रतिको मूल कर्तव्यलाई ध्यानमा राखी हिजोका शान्ति प्रक्रिया र जनआन्दोलनका सहयात्री सँगै मिलेर संविधान निर्माण प्रक्रियामा जुट्न तथा आवश्यक सहमति र समझदारी निर्माण गर्न अबिलम्ब सार्थक वार्ता शुरु गरौं । गत माघ ५ गतेदेखि सहमति नजिक पुगिसकेका विषयलाई अघि बढाऔं र छिटोभन्दा छिटो संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गरी सङ्क्रमणकालको अन्त्य गर्दै मुलुकलाई राजनीतिक स्थायित्व र प्रगतिको दिशातर्फ लैजान अग्रसर बनौं ।
जय नेपाल १

मिति : २०७१/१०/२५

(सुशील कोइराला)

PM letter


  •  
  •  
  •