कानुनविद्ले प्रधानमन्त्रीलाई भने–मौका खेर नफाली संविधान दिनुस्

383
  •  
  •  
  •  

काठमडौं २० माघ ।

koirala
koirala

कानुनविद्हरुले प्रधानमन्त्री सुशील कोइरालालाई अहिलेको मौका खेर नफाली संविधान जारी गर्न आग्रह गरेका छन् ।

सोमबार बिहान प्रम कोइरालाले परामर्शका लागि बालुवाटारमा बोलाइएका कांग्रेसनिकट कानुनविद्हरुले प्रक्रियामा गइसकेको संविधान निर्माणलाई अघि बढाउन भनेका हुन् ।

डेमोक्र्याटिक लयर्स एसोसियसनका कानुन व्यवसायीहरुसँगको भेटमा प्रम कोइरालाले संविधानमा अड्केको गाँठो फुकाउने फुकाउने विधिबारे लिएको  परामर्शका क्रममा उनीहरुले सो सुझाव दिएका हुन् ।

‘सकेसम्म लचिलो भएर अहिलेको गरिरहनुभएको सहमतिको प्रयत्न जारी राख्नुस्’, डेमोक्र्याटिक लयर्स एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानमन्त्रीलाई दिएको सुझावबारे भने, ‘यदि सहमति भएन प्रक्रियामा गएर संविधान जारी गर्ने यो गतिलो मौका र अवसर हो, यसलाई कुनै हालतमा खेर नफाल्नुस् ।’

प्रधानमन्त्रीको गाँठो फुकाउने सुझाव दिँदै कानुनविद्हरुले ४५० जना बढी सभासद्हरु प्रक्रियाबाटै संविधान ल्याउने पक्षमा रहेको बताउँदै यो अमूल्य अवसरलाई कुनै हालतमा खेर नफाली अघि बढ्न सुझाव दिएका हुन् ।

‘हामीले यो अमूल्य अवसर देश र जनताका लागि प्रयोग गर्नुस, मौका खेर नफाल्नुुस् भन्यौं । यो बेला पनि संविधान जारी भएन भने कहिल्यै जारी हुँदैन भन्यौं’, घिमिरेले भने, ‘प्रमले सल्लाह गरी सहमतिको प्रयत्न जारी राख्दै संविधान निर्माणलाई पनि अघि बढाउँछु भन्नुभयो ।’

सोमबार बिहान ८ बजे प्रम निवास बालुवाटारमा भएको भेटमा कांग्रेसनिकट बरिष्ठ कानुनविद्हरु उपस्थित थिए ।

प्रमलाई सल्लाह दिन बरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, र प्रकाश राउत पुगेका थिए । त्यसैगरी अधिवक्ताहरु शेरबहादुर केसी, गणेशदत्त भट्ट, यदुनाथ खनाल र  डेमोक्र्याटिक लयर्स एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहित सहभागी थिए । अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •