माघ ८ टर्याे भन्दैमा हात–खुट्टा छाड्ने अवस्था छैन : प्रधानमन्त्री

275
  •  
  •  
  •  

काठमाडौं, १८ माघ (ओएनएस) :  प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा माघ ८ मा संविधान जारी गर्न नसक्दा हात खुट्टा छाड्ने अवस्था नभएको भन्दै दलहरुबीच वार्ताबाट विवाद अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री कोइरालाले आइतबार अपरान्ह बालुवाटारमा खेलकूद अधिकार संरक्षण संघर्ष समितिका प्रतिनिधिहरुसँग कुराकानीमा सो विश्वास व्यक्त गरेका हुन् । “मलाई विश्वास छ । अर्को बाटो छैन,” प्रधानमन्त्री कोइरालाले भने ‘ प्रधानमन्त्रीले अघि थपे “वार्ता गरेरै शान्ति संझौता, लडाकू समायोजन र हतियारको बन्दोवस्त जस्ता विषय टुंगोमा पुगे , अब शान्ति र संविधान छिट्टै आउछ । ”

प्रधानमन्त्री कोइरालाले आफू संविधान निर्माण सहित राष्ट्रिय समस्याहरुको समाधानमा अत्यन्त लचकताको साथ प्रस्तुत भएको उल्लेख गर्दै भने,“अस्ति गेट क्र्यास गरेरै प्रचण्डजीलाई भेट्न गए । बन्दूक कहिल्यै पनि समाधानको बाटो हैन । हतियार परित्याग गरेरै नै हामीले संघीयता,गणतन्त्र,समावेशिता सहितको लोकतन्त्र हासिल गरेका हौ ।”

प्रधानमन्त्री कोइरालाले मुलुकमा शान्ति,स्थिरता र लोकतान्त्रिक पद्धति स्थापित भएर सुचारु भएपछि सबै क्षेत्रको अपेक्षित विकास हुने पनि खेलाडीहरुसँग बताए । उनले शान्ति र स्थिरता कायम गर्दै लोकतान्त्रिक पद्धति सुचारु भएपछि ८/१० बर्षमा नै मुलुकको कायाँपलट हुने र खेलाडीलाई मुलुकले सुविधा र सम्मान गर्न सक्ने अवस्था सिर्जना हुने बताए । उनले अभावका बीचमा पनि अन्तराष्ट्रिय खेलहरुमा स्वर्ण,रजत र कास्य पदकहरु जितेर नेपालको प्रतिष्ठा अभिबृद्धि गरेकोमा खेलाडीहरुलाई बधाई पनि दिए  ।

समितिले भावि संविधानमा खेलकूदलाई मौलिक हकका रुपमा राख्नु पर्ने, केन्द्रीय विधायिकादेखि प्रादेशिक विधायिकामा खेलाडीहरुको प्रतिनिधित्व सुरक्षित गरिनु पर्ने, स्पोर्टस् भिलेजको स्थापना गर्ने, राष्ट्रिय खेलकूद नीति निर्माण गरी विद्यालयस्तरमा खेलकूदको पाठ्यक्रम राख्ने र खेल प्रतियोगिताहरु सञ्चालन गर्ने,खेलकूद संघहरु स्थापनाको मापदण्ड निर्माण गरी सो पूरा गर्नेलाई मात्र मान्यता दिने जस्ता मागहरु सारेको छ ।


  •  
  •  
  •