आफ्नै मन्त्रीसँग झुके प्रधानमन्त्री

259
  •  
  •  
  •  

काठमाडौं २७ पुस ।  प्रधानमन्त्री सुशील कोइराला आफैंले सदर गरेर मन्त्रिपरिषद्मा पेस गरेका पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने र नेपाली सेनाको पुनर्ढांचासम्बधी दुई प्रस्ताव बिहीबारको बैठकबाट अस्वीकृत भएका छन्।

नेपाल एकीकरणको नेतृत्व गर्ने राजा पृथ्वीनारायण शाहको जन्मदिन पारेर मनाइँदै आएको राष्ट्रिय एकता दिवससबन्धी प्रस्ताव उनकै पार्टीका सञ्चारमन्त्री मीनेन्द्र रिजालले तर्काइदिएका थिए भने सेनाको पुनर्ढांचासम्बन्धी प्रस्ताव एमालेका मन्त्री दलबहादुर रानाले पारित गर्न मानेनन्।

स्रोतअनुसार प्रधानमन्त्री कोइरालाले बैठकमा पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउनेसम्बन्धी ठाडो प्रस्ताव पेस गरे। उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमलाई यसबारे औपचारिक पत्र लेखेर सुझाव मागेको बैठकमै बताए।

प्रधानमन्त्रीको प्रस्तावपछि गौतमले हातमा कागज देखाउँदै राष्ट्रिय एकता दिवस मनाउन फरक नपर्ने र सरकारी बिदा दिन सकिने धारणा सुनाए। तर सञ्चारमन्त्री रिजालले यसबारे तत्काल निर्णय गर्नु उचित नहुने भन्दै माघ ८ पछि मात्रै निर्णय गर्नु उचित हुने तर्क गरे।

कांग्रेस मन्त्रीबाटै प्रस्तावको विरोध भएपछि एमालेका मन्त्रीहरू दलबहादुर राना र लालबाबु पण्डितले पनि यसबारे अहिले निर्णय नगर्दा राम्रो हुने बताए।

उपप्रधानमन्त्री तथा गृहमन्त्री गौतमले अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्री र एमालेका हामी १० जना मन्त्रीहरू एकता दिवस मनाउने पक्षमा थियौं तर कांग्रेसकै केही मन्त्रीहरूले विरोध गरे। त्यसपछि प्रधानमन्त्रीले भन्नुभएन।’
केही मन्त्रीले एकता दिवस नभनी राष्ट्रिय एकीकरण दिवस भनेर मनाउन सकिने तर्क गरेको पनि स्रोतले जनाएको छ।
यस्तै लामो समयदेखि अड्किएको नेपाली सेनाको पुनर्ढांचासम्बन्धी प्रस्तावमा एमाले मन्त्री रानाले एकपटक पनि नपढी सेनाको यत्रो विषय कसरी पारित गर्ने भन्दै विरोध गरे। उनले प्रश्न उठाएपछि सहजीकरण गर्दै मुख्य सचिव लीलामणि पौड्यालले मन्त्रीज्यूले प्रश्न उठाएकाले अहिले पारित नगरी मन्त्रिपरिषद्कै प्रशासनिक समितिमा छलफलका लागि पठाइदिनु उचित हुने सुझाव दिए।

आफ्ना प्रस्ताव क्रमश: असफल भएपछि प्रतिक्रियाविहीन भएका प्रधानमन्त्री कोइरालाले थप जोड नगरेकाले उक्त प्रस्ताव प्रशासनिक समितिमा पठाइएको छ।

झन्डै तीन हजार सिपाहीको दरबन्दी कटौती गरी अधिकृत र जुनियर अधिकृत हुँदै सहायक रथीसम्मका पद थप गर्ने उक्त प्रस्ताव अर्थ मन्त्रालयबाट समेत स्वीकृत भएर मन्त्रिपरिषद् पुगेको थियो।

प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले नै राखेका प्रस्ताव परित नहुनुलाई कमजोर नेतृत्वको परिणाम भन्दै मन्त्रीहरूले आलोचना गरेका छन्। आइतबार नै पुस २७ गते परेकाले यस दिन एकता दिवस मनाउने प्रस्ताव यस वर्षलाई टरेको छ भने सेनाको प्रस्ताव समितिबाट फेरि मन्त्रिपरिषद् पुग्नुपर्छ।

बिहीबारको मन्त्रिपरिषद् बैठकमा परराष्ट्र मन्त्रालयको सचिव पदमा अध्यादेशमार्फत छुट्टै सेवाको मान्यता दिलाई त्यहींभित्रबाट मात्र बढुवा गर्नेसम्बन्धी अध्यादेश पनि अस्वीकृत भएको छ।

कामुसचिव भएका शंकरदास बैरागी कामु पदको अवधि नियमत: सकिएपछि फेरि निमित्त सचिवमा घटुवा हुनुपरेकाले हौसला घटेको तर्क गर्दै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले अध्यादेश सदर गर्न आग्रह गरे। तर रक्षा मन्त्रालयका सचिव पदमा पनि कामु हुँदै निमित्त भएर देवेन्द्रप्रसाद सिटौलाले काम गरिरहेको तर्क गर्दै अध्यादेश नल्याउन कांग्रेसी मन्त्रीहरूले विरोध गरेपछि मन्त्री पाण्डे बैठकमै आक्रोशित भए।

उनले क्याबिनेटस्तरको मन्त्रीलाई काम गर्दागर्दै राज्यमन्त्रीमा झार्दा कस्तो हुन्छ भन्दै आक्रोश पोखे पनि प्रस्ताव पारित हुन नसकेपछि परराष्ट्रमा सचिवको विशेष पद सिर्जना गरी पदस्थापन गर्न सकिने निर्णय गर्दै मन्त्रिपरिषद् बैठकले मुख्यसचिव पौड्याललाई यसको जिम्मेवारी दिएको छ।

बैठकमा शिक्षामन्त्री चित्रलेखा यादव र परराष्ट्रमन्त्री पाण्डेबीच पनि विवाद भयो। यादवले उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्ष र सदस्यसचिवमा कांग्रेस निकट व्यक्तिहरू नियुक्तिको ठाडो प्रस्ताव प्रधानमन्त्रीमार्फत पेस गरेपछि गठबन्धन संस्कृति नभएको भन्दै एमाले मन्त्रीहरूले विरोध गरे।

रिसाएर आफ्नो प्रस्ताव फिर्ता लिएको बताएकी मन्त्री यादवलाई ऊर्जामन्त्री राधा ज्ञवालीले एमालेले पनि एउटा पद पाउनुपर्ने भनेपछि प्रधानमन्त्री कोइरालाले मन्त्री ज्ञवालीलाई ‘पहिला आफैंमा सुधार गरेर देखाउन’ निर्देशन दिए।

महतले लिए न्युयोर्कको उपचारखर्च 
अर्थमन्त्री रामशरण महतले विश्वबैंकको केन्द्रीय कार्यालय जाँदा अचानक बिरामी परेको भन्दै मन्त्रिपरिषद्बाट दुई हजार आठ सय ३८ अमेरिकी डलर (करिब दुई लाख ८४ हजार रुपैयाँ) उपचारखर्च लिएका छन्।
केही दिनअघि उनी विश्वबैंकको बैठकमा भाग लिन वासिङ्टन डीसी गएका थिए। औपचारिक कार्यक्रम डीसीमा भएकाले उनको न्युयोर्कको औषधिखर्च वैधानिक नहुने हुँदा प्रस्तावमै विश्वबैंकको बैठकमा जाने क्रममा न्युयोर्कमा बिरामी परेको उल्लेख छ। उनले न्युयोर्कको लेनोक्स हिल अस्पतालको बिल पेस गरेका छन्।
स्वास्थ्यमन्त्री खगराज अधिकारीले मन्त्री महतको उपचारखर्चसम्बन्धी प्रस्ताव पेस गरे। यसैगरी सहकारीमन्त्री नारायण खड्काले एमाले नेता केशव बडाल क्यानडाको एउटा कार्यक्रममा भाग लिन गएको खर्च राज्यकोषबाट दिने प्रस्ताव पारित गराएका छन्।

असोज २० देखि ३ दिनसम्म क्यानडाको क्युबेकका सहकारीको कार्यक्रममा भाग लिएबापतको तीन लाख ७६ हजार आठ सय १४ रुपैयाँ बडालले शोधभर्ना पाएका छन् भने उनीसँगै गएका सहकारी महासंघका उपाध्यक्षलाई पनि तीन लाख ८८ हजार तीन सय १६ रुपैयाँ खर्च दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।  अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •