संविधान निर्माणका लागि प्रधानमन्त्री कोइरालाले सबैको साथ खोजे

229
  •  
  •  
  •  

काठमाडौं ६ कात्तिक (ओएनएस) : राष्ट्रपति डा. रामबरण यादवले संविधानसभाबाट तोकिएको समयमा संविधान प्राप्त हुने विश्वास गरेका छन् । तिहारको अवसरमा राष्ट्रपति डा यादवले दिएको सन्देशमा भनिएको छ–‘संविधानसभाबाट तोकिएको समयमा संविधान प्राप्त होस् । देशको सार्वभौमिकता, अक्षुणता र स्वतन्त्रता कायम रहोस् । राष्ट्र र राष्ट्रियताप्रति सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग प्रदान गरुन् यही मेरो शुभकामना छ ।’
पर्वले नेपालीको आर्थिक समृद्धि र आपसी भातृत्व तथा सामाजिक सद्भाव एवम् एकता कायम भई समाजमा शान्ति, स्थायित्व र प्रगति हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री सुशील कोइरालाले संघियतासहितको संविधान नबनि नागरिकका अधिकार स्थापित नहुने बताएका छन् । उनले ६ दशकभन्दा लामो प्रजातन्त्रको स्थापना र विकासका लागि सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई संस्थागत गर्ने जिम्मेवारीलाई गर्नुपर्ने बताए ।
दीपावलीसहित तिहारको अवसरमा सन्देश दिदै उनले आपसी सहमति, सहकार्य, एकता र मेलमिलापको माध्यमबाट उक्त ऐतिहासिक जिम्मेवारी पूरा गरी मुलुकलाई विकासको नयाँ चरणमा प्रवेश गराउन सकिने भएकाले सबैको साथ आवश्यक भएको बताए ।
उनले नयाँ परिवेशमा मनाउन लागिएको तिहारले नेपालीले बढो उत्साह र अपूर्व सहभागिता जनाएर निर्वाचित गरेको संविधानसभा अहिले लोकतान्त्रिक संविधान निर्माणमा सक्रियरूपले लागि परेको पनि बताएका छन् ।
प्रधानमन्त्री कोइरालाले सङ्घीयता र गणतन्त्रसहितको लोकतान्त्रिक संविधानको निर्माण भएपछि मात्र राजनीतिक र संवैधानिक सङ्क्रमण पार गरी विकासमा लाग्ने अवसर प्राप्त हुने उल्लेख गर्दै भनेका छन् छ–‘दीपावलीले नेपालको अभिसापका रूपमा रहेको सबै खालका अँध्यारोमाथि विजय पाउने प्रेरणा दिन सकोस् ।’


  •  
  •  
  •