राष्ट्रपतिमा विवाद नगर्न प्रधानमन्त्रीको आग्रह

214
  •  
  •  
  •  

काठमाडौं ५ भदौ ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले संविधानसभाबाट नयाँ संविधान जारी नभएसम्म राष्ट्रपतिका बारेमा विवाद नगर्न प्रमुख सत्ता साझेदार एमाले र प्रतिपक्षी एमाओवादीलगायतका दलहरूलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री कार्यालयमा बुधबार आयोजित कार्यक्रममा सचिवहरूलाई निर्देशन दिने क्रममा उनले एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओलीले राष्ट्रपति र उपराष्ट्रपति संविधानसभाबाट अनुमोदन हुनुपर्ने आवाज उठाउन थालेकोप्रति संकेत गर्दै एक वर्षभित्रै संविधान जारी गर्नुपर्नेमा जोड दिई राष्ट्रपतिका बारेमा विवाद नगर्न आग्रह गरेका हुन् ।

कोइरालाले संविधानसभा निर्वाचनपछि माघ २६ मा कांग्रेस र एमालेबीच संयुक्त सरकार गठनका लागि भएको सहमतिको पहिलो बुँदामा रहेको बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान, २०६३ र ताजा जनादेशको मूल मर्म र भावनाबमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान एक वर्षभित्र निर्माण्ा गर्नेबाहेक अरू कुरामा विवाद नगर्न एमालेलगायतका दललाई आग्रह गरेका हुन् ।

उनले संविधानसभाबाट नयाँ संविधान जारी नभएसम्म अन्तरिम संविधानअनुसार वर्तमान राष्ट्रपति पदमा कायम रहिरहने प्रष्ट व्यवस्था रहेको उल्लेख गर्दै कांग्रेस र एमालेबीच भएको सहमतिको पहिलो बुँदाअनुसार एक वर्षभित्र नयाँ संविधान निर्माण गरिसक्नसमेत मर्यादित राष्ट्रपतिका बारेमा विवाद नउठाउन एमालेसहित सबै दललाई आह्वान गरेका छन् ।

‘राष्ट्रपति व्यक्ति नभई मर्यादित र विवादरहित इन्स्टिट्युसन हो । राष्ट्रपति संविधानसभाबाट नयाँ संविधान जारी नभएसम्म पदमा रहिरहने प्रष्ट व्यवस्था छ । राष्ट्रपति रामवरण यादव स्वयं संविधान जारी भएपछि पद छाड्न तयार हुनुहुनुहुन्छ । संविधान जारी हुनासाथ म पनि प्रधानमन्त्री पद छाड्न तयार छु । राष्ट्रपति पनि, म पनि पदमा टाँसिइरहने पक्षमा छैनौं । अबको छ महिनामा संविधान तयार गरी जारौं गरौं, संविधान जारी भएपछि म एक दिन पनि कुर्सीमा बस्दिन । राष्ट्रपति पनि बस्नुहुन्न । त्योभन्दा अगाडि राष्ट्रपतिका बारेमा विवाद नगरौं’ कोइरालाले भने ।

उनले एक वर्षभित्र अर्थात् माघ ८ सम्ममा संविधान जारी गर्ने कांग्रेस र एमालेबीच भएको सहमतिको पहिलो बुँदाप्रति प्रतिबद्ध रहन र राष्ट्रपतिका बारेमा नयाँ बखेडा नगरिरहन एमाले नेतृत्वलाई बारम्बार आग्रह गरिरहे । उनले भावुक भएर त्यसका लागि संविधान जारी गरेको दिन राष्ट्रपतिले मात्र होइन आफूले पनि पद त्याग्ने प्रतिबद्धता दोहोर्‍याइरहे ।

निकै भावुक भएर बोलेका प्रधानमन्त्रीले आगामी माघ ८ भित्र नयाँ संविधान आउने ठोकुवा गर्दै संविधान निर्माण अघि राष्ट्रपतिलाई अनुमोदन गर्दा संविधान, मर्यादित राष्ट्राध्यक्ष पदकै अपमान हुने बताए । कांग्रेस र एमाले सहमतिको चोथौ बुँदामा रहेको राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधानसभा/व्यवस्थापिका-संसदबाट अनुमोदन गर्ने भन्ने समझदारी हाल असान्दर्भिक भइसकेको उल्लेख गर्दै उनले अब त्यसलाई कोट्याउन नहुने उल्लेख गरे । कान्तिपुृरबाट


  •  
  •  
  •