प्रधानमन्त्री कोइरालाले भने, ‘संविधान जारी गरेपछि राष्ट्रपति र म दुवैले पद छोड्छौं’

202
  •  
  •  
  •  

काठमाडौं ५ भदौ ।
प्रधानमन्त्री सुशील कोइरालाले आगामी माघ ८ गते संविधान जारी गरेपछि आफू र राष्ट्रपति डा. रामवरण यादव दुवैले पद छोड्ने घोषणा गरेका छन्। सत्ता साझेदार एमालेले राष्ट्रपति संसद्बाट अनुमोदित हुनुपर्ने अडान राख्दै आएका बेला कोइरालाले संविधान जारी नभएसम्म त्यता लाग्न नहुने भन्दै यस्तो घोषणा गरेका हुन्।

‘माघ ८ गते संविधान जारी भएपछि राष्ट्रपतिले पनि पद छोड्नुहुन्छ, म पनि बसिरहन्‍न, छोडिहाल्छु’, प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार विशिष्ट श्रेणीका कर्मचारीलाई निर्देशन दिने क्रममा कोइरालाले भने, ‘अहिले राष्ट्रपतिको अनुमोदन गर्ने भनेर बखेडा झिक्न हुँदैन।’

प्रधानमन्त्री कोइरालाले सत्ता साझेदार र विपक्षी दलबाट राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधानसभाले अनुमोदन गर्नुपर्ने आवाज आएपनि अहिलेको अवस्थामा एउटा मर्यादित संस्थालाई त्यसतर्फ लैजान नहुने बताए। ‘राष्ट्रपति व्यक्ति होइन, संस्था हो’, उनले भने, ‘यो संस्थालाई विवादमा नपारौं।’ उनले संस्थागत हुँदै गएको निकायलाई अनुमोदन गर्ने-नगर्ने भनेर विवादमा तान्‍न नहुने पनि बताए।

सात महिनाअघि कोइराला नेतृत्वमा सरकार गठन हुने बेलामा कांग्रेस र एमालेबीच भएको सातबँुदे सहमतिमा संविधान जारी नभएसम्मका लागि संविधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिलाई अनुमोदन गर्ने उल्लेख छ। उक्त सहमति कार्यान्वयन गर्न एमालेले आग्रह गर्दै आएको छ।

एमालेले औपचारिक निर्णय र दस्ताबेजमा राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन उठाउने गरे पनि त्यसलाई कार्यान्वयन गर्न दबाब भने दिएको छैन। अघिल्लो साता सम्पन्न एमाले केन्द्रीय समिति बैठकले सरकार निर्माणका क्रममा भएको सातबुँदे सहमति कार्यान्वयनका लागि कांग्रेससँग गम्भीरतापूर्वक छलफल गर्ने निर्णय भने गरेको छ।

विभिन्न मन्त्रालय र सरकारी निकायको प्रशासनिक नेतृत्वमा रहेका तीन दर्जन सचिवलाई निर्देशन दिँदै कोइरालाले सरकारको पहिलो प्राथमिकता भ्रष्टचारमा शून्य सहनशीलता भएको बताए। ‘मेरो प्राथमिकता भ्रष्टचारमा शून्य सहनशीलता हो’, उनले भने, ‘त्यसलाई अक्षरस: पालन गर्नुस्।’

कोइरालाले विधि र विधानअनुसार अनुशासित भएर काम गर्न र आफ्ना मन्त्रीले भने पनि गलत काम नगर्न सचिवहरूलाई निर्देशन दिए। ‘अनुशासित भएर लाग्नुस्, गलत काम मन्त्रीले भने पनि, मैले भने पनि नगर्नुस्’, उनले भने।

प्रधानमन्त्री कोइरालाले राम्रो काम गर्दा मन्त्री वा अन्य कुनै निकाय र व्यक्तिबाट दबाब आए सीधै आफूलाई जानकारी गराउन पनि सचिवहरूलाई आग्रह गरे। उनले भने, ‘तपाईंहरूले राम्रो काम गर्नुस्, त्यसमा अप्ठ्यारो परे सीधै मलाई भन्नुस्, म सहयोग गर्न तयार छु।’

निकै आक्रामक मुद्रामा देखिएका प्रधानमन्त्रीले एमाले मन्त्रीहरूले मनमोजी ढंगले मन्त्रालय चलाउनु गठबन्धन विपरीत भएकाले त्यसबारे कुरा उठाउन आफ्ना पार्टीका मन्त्रीलाई आग्रह पनि गरे। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •