काठमाडौं १९ असोज ।
तीन दलका शीर्ष नेतृत्वबीच छलफल हुँदा प्रधानमन्त्री सुशील कोइराला पूर्वसमझदारीअनुसार संयुक्त सरकार नै बनाउने कुरा गर्छन्। जब पार्टीभित्र आन्तरिक छलफल हुन्छ, अनि उनका कुरा फेरिन्छन्। कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘तीन दलका शीर्ष नेताबीचको बैठकमा तपाईंहरू नै हुने त हो भनेर भनेको हो। तर, एमाले अध्यक्ष केपी ओलीलाई नै सरकारको नेतृत्व दिन समझदारी भएको छैन भनेर भन्नुहुन्छ।’
पछिल्लोपटक कोइरालानिकट नेताहरू ओलीको नेतृत्वमा संयुक्त सरकार बन्न नसक्ने भन्दै कोइरालाकै निरन्तरता चाहिने बताइरहेका छन्। पार्टी प्रवक्ता दिलेन्द्र बडूले खुलेरै कोइरालाकै नेतृत्वमा सरकार बनाउनुपर्ने बताउँदै आएका छन्। आफू निकट सदस्यहरूले गरिरहेको ‘लबिङ’प्रति कोइराला मौन छन्। मौन रहनुको अर्थ फेरि आफ्नै नेतृत्वमा सरकार बन्न सक्छ भन्ने मनसाय कोइरालामा देखिन्छ। त्योभन्दा पनि ओली हुन नसके पार्टीभित्रबाटै शेरबहादुर देउवा आउलान् भन्ने चिन्ता कोइरालाको छ। कांग्रेसबाट आफ्नो विकल्प खोज्न कोइराला तयार छैनन्।
संसदीय दलका नेताको निर्वाचन गराउन चर्को माग उठ्ने देखेर नै कोइरालाले प्रधानमन्त्रीबाट राजीनामा नदिई बसेका हुन्। केही दिनअघि कोइरालासँगको भेटमा देउवाले आफू या रामचन्द्र पौडेल जो भए पनि स्वीकार गरेर जाने भन्दै संसदीय दलको नेताको निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए। तर, कोइराला दलका नेताको निर्वाचन गराउन तयार देखिएका छैनन्। दलको नेता नभए उम्मेदवार बन्न केन्द्रीय कार्यसमितिले निर्णय लिनुपर्ने हृुन्छ। केन्द्रीय कार्यसमितिमा कोइरालाकै बहुमत छ।
ओलीको विकल्पमा देउवाको नाम चर्चामा आउन थालेपछि नेतृत्वका लागि कोइराला आफैं अघि बढेका हुन्। ‘बाह्य तथा घरेलु शक्तिहरूले ओलीलाई रोक्न सफल भए देउवा भइहाल्छन् कि भन्ने चिन्ता कोइरालामा देखिन्छ,’ देउवापक्षीय एक नेताले भने, ‘पार्टीको १३ औं महाधिवेशन हुन लागेका बेला पार्टीभित्रै अर्को शक्ति केन्द्र खडा गर्न कोइराला चाहनन्न्।’
कोइराला नेतृत्वमा नै सरकार बनाउनुपर्छ भनेर उनी निकट मन्त्री, प्रवक्ता दिलेन्द्र बडू, केन्द्रीय सदस्यहरू आनन्द ढुंगाना, दिलबहादुर घर्ती लागेका छन्। तर, पार्टीभित्र प्रभावशाली छवि बनाएका महामन्त्री कृष्णप्रसाद सिटौला र सहमहामन्त्री पूर्णबहादुर खड्कासहितको एउटा समूह भने पूर्वसहमति र समझदारीविपरीत जान नहुने पक्षमा छन्। उनीहरू ओली नेतृत्वमा नै प्रमुख तीन दलसहितको संयुक्त सरकार बनाएर जानुपर्ने बताउँछन्। भारतले असन्तुष्टि जनाउँदै नाकाबन्दी लगाइरहेको अवस्थामा दलहरूबीच विवाद बढ्दा संविधान कार्यान्वयनमा अप्ठ्यारो पर्ने भन्दै उनीहरूले विवाद झिक्न नहुने बताएका हुन्।
‘१६ बुँदे सहमति गर्दा सरकार निर्माणको विषयमा भएको भद्र सहमतिका बारेमा अझै प्रस्टता भइसकेको छैन। शीर्ष नेताहरूबीच सहमति भएको हो भने कांग्रेस त्यसमा अडिनुपर्छ,’ खड्काले कान्तिपुरसँग भने, ‘सहमतिमा कांग्रेसले दायाँबायाँ गर्न हुन्न।’ संविधान कार्यान्वयनदेखि कानुन बनाउने कामसम्म प्रमुख दलहरूबीचको एकता आवश्यक रहेको खड्काले बताए।
कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला अहिल्यै सरकारको नेतृत्व कसले लिन्छ भनेर भन्न सकिने अवस्था नरहेको बताउँछन्। राष्ट्रपतिले सहमतीय सरकारका लागि दिएको असोज २१ गतेसम्मको समय सकिएपछि नै सरकार निर्माणमा रस्साकस्सी चल्ने उनको दाबी छ।
कान्तिपुरबाट