अमरेशहरुकै कारण टिकापुर घट्ना भयो, उसलाई कारबाही हुन्छ : प्रधानमन्त्री

147
  •  
  •  
  •  

काठमाडौं १० असोज ।
प्रधानमन्त्री शुसील कोइरालाले टीकापुर घटना अमरेश सिंहहरुको अराजक र उत्तेजनापूर्ण भाषणका कारण भएको भन्दै उनलाई कारवाही गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
एसएसपी सहित ८ जना सुरक्षाकर्मी र दुधेबालक सहित ९ जनाको ज्यान जाने गरी भदौ ७ गते भएको घटनापछि प्रधानमन्त्री कोइराला पहिलोपटक टीकापुर आएका हुन । नेपाली सेनाको हेलिकप्टरबाट टीकापुर आएका प्रधानमन्त्री कोइरालाले अमरेश सिहको दुई पटक नामै तोकेर कारवाही गर्ने बताएका हुन।
‘मलाई थाहा छ, अमरेश सिह सहितका मधेसबादी दलका नेताहरुको उत्तेजीत भाषणका कारण टीकापुर घटना भएको हो, पार्टीले अमरेशका लागि कारवाही अगाडि बढाईसकेको र कारवाही हुन्छ’उनले भने। उनले अहिले देशमा विग्रह भन्दा पनि शान्ति र स्थाईत्वको आवश्यकता रहेको बताए।
प्रधामन्त्री कोइरालाले संविधान जारी भईसकेको अवस्थामा त्यसमा कसैले सत प्रतिसत अधिकार पाएको र कसैले केही पनि नपाएको नठान्न आग्रह गर्दै भने ‘हेर्नुस, संविधान साझा दस्तावेज हो, त्यो परिवर्तनीय दस्तावेज पनि हो, त्यसमा धेरै दलका साझा कुराहरु मात्रै लेखिएका छन, तर आदीबासी, मधेसी, जनजाती, मुश्लिम र थारुका लागि त छुट्टै आयोग गठन गरिएको छ’ उनले भने ।
प्रधानमन्त्री कोइरालाले अधिकार फेरी पनि दिन सकिने, थप्न सकिने र संविधान परिवर्तन गर्न सकिने भएकाले अहिले कार्यान्वयनमा लाग्न सबैलाई आग्रह गरे । पत्रकारहरुले राखेको जिज्ञासामा उनले, राष्ट्र संघको महासभा भन्दा मुलुकमा आफ्नो आवश्यकता बढी भएकाले आफु अमेरिका नगएको उनले बताए । ‘मैले संयुक्त राष्ट्र संघको महासभाका लागि अमेरिका जानु भन्दा पनि मलाई, मुलुकमा मेरो आवश्यकता रहेको लाग्यो र म गएन, मैले सबै पक्षलाई वार्ताबाट मिलाउने प्रयास पनि थालेको छु’ उनले भने ।
प्रधामन्त्री कोइरालाले काठमाण्डौं फर्किने वित्तीकै थारु र मधेसी नेताहरुसँग छलफल गर्ने बताए । शान्ति, स्थायीत्व र लोकतन्त्र भएमा देशले फड्को मार्ने बताउदै प्रधानमन्त्री कोईरालाले भने ‘अब आन्दोलन छोडेर देशको अथाह जलस्रोत, हिमालको अथाह जडिबुटी र पर्यटनका लागि मात्रै सोच्ने हो भने १० वर्षमा हामी धनी देश बन्छौं।’
अचानक टीकापुरको योजना बनाएर आएका प्रधानमन्त्री कोईराला समक्ष टीकापुरको सामुदायीक पुस्तकालयमा, त्यहाँका स्थानीय नेताहरुले छिटो अवस्था सामान्य बनाउन पहल गरिदिन आग्रह गरेका थिए ।
रामजनमले जनता लडाएको आरोप
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव तथा अहिलको थारु आन्दोलनका अगुवा रामजनम चौधरीले थारु र पहाडिबीच लडाई गराईरहेको भन्दै काँग्रेसको क्षेत्र नंं ३ का सभापति तथा थारु नेता तेजराम चौधरीले प्रधानमन्त्री समक्ष गुनासो गरेका छन्।
‘दाई (शुसील कोईराला) ले तीन/तीन पटक रामजनमलाई टीकट दिनुभयो, अनी जिते पनि, त्यसपछि फोरम लोकतान्त्रीकबाट पनि जितेर पाँच पटक साँसद भईहाले तर यो क्षेत्रको कुनै विकास गरेन, अहिले आएर थारु पहाडिबीचमा लडाई गराई रहेका छन’ तेजरामले प्रधानमन्त्रीलाई गुनासो गर्दै गर्दौ त्यहाँ भएका धेरैले ताली बजाएका थिए। रामजनम तीनपटक काँग्रेसबाट टीकट लिएर जितिसकेका नेता हुन्।
उनले, टीकापुर क्षेत्रका सभाषद जनक चौधरी र कैलाली क्षेत्र नंं ३ का सभाषद समेत रहेका रामजनम चौधरीलाई सम्झाउन आग्रह गरे । ‘अब हामीलाई शान्ति चाहियो, छिटो शान्ति गराई दिनुस, थारु र पहाडि बीच एकअर्काप्रति डरको वातावरण भएको छ’ तेजरामले प्रधानमन्त्री कोईरालालाई भने ।
घटना राजीतिक नबनाउन पिडितको आग्रह
प्रधानमन्त्री कोईरालासमक्ष पिडित दुधे बालकका हजुरबा जंगबहादुर साउदले पनि आफ्नो पिडा सुनाएका थिए । ‘अहिले टीकापुर घटना राजनीतिक घटना हो भनिदै छ, निर्दोश प्रहरी र दुधे बालक मारिएका छन, प्रधानमन्त्री ज्यु, नुहाएर बरान्डामा राखिएको मेरो नातीको के दोष थियो, अरुले राजनीति गरेपनि दुधे बालकले के राजनीति गरेको थियो, त्यसलाई राजनीतिक मोड नदिनुहोला, दोषिलाई कारवाही गरिदिनु होला’ साउदले भने ।
निषेधाज्ञा लागेको अवस्थामा पनि प्रधानमन्त्री कोइराला भेटन टीकापुरका सैयौं बासिन्दा सामुदायीक पुस्तकालयको प्रांगणमा भेला भएका थिए । ३४ दिन देखिको कफ्र्युमा बसिरहेका टीकापुरका बासिन्दाले प्रधानमन्त्रीलाई शान्तिपुर्वक गाउँ शहरमा आवतजावत गर्ने वातावरण बनाउन आग्रह गरेका थिए ।प्रधानमन्त्रीसँगै प्रधान सेनापति रमीन्द्र क्षेत्री, प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल पनि टीकापुर आएका थिए ।

अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •