फेरि अमेरिका जाँदै प्रधानमन्त्री

124
  •  
  •  
  •  

काठमाडौं २८ साउन (ओएनएस) :  स्वास्थ्यका कारण सक्रिय रूपमा काम गर्न नसकेपछि प्रधानमन्त्री सुशील कोइराला दबाबमा परेका छन् । अमेरिकाबाट स्वस्थ भएर फर्केको दाबी गरे पनि उनी बालुवाटारबाट बाहिर निस्कन सक्ने अवस्थामा छैनन् । प्रधानमन्त्री कोइराला आगामी असोजको पहिलो साता फेरि अमेरिका जाँदै छन् । १० असोजमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने उनको कार्यक्रम छ ।

महासभालाई सम्बोधन गर्नु एक साताअघि नै कोइराला अमेरिका पुगिसक्ने स्रोतको भनाइ छ । स्वास्थ्य परीक्षणका लागि उनी अघि नै अमेरिका जाने योजना रहेको स्रोतले बतायो । ‘प्रधानमन्त्रीज्यूको अमेरिकाको कार्यक्रम भदौको अन्तिम या असोजको १/२ गतेभित्रै हुनेछ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो ।

यसअघि अमेरिकाको मेमोरियल सोलना केटरिङ क्यान्सर सेन्टरमा कोइरालाको फोक्सोको क्यान्सरको उपचार भएको थियो । उनलाई डाक्टरले तीन महिनाभित्र फलोअपका लागि बोलाएका थिए ।

अमेरिकाबाट फर्केपछि प्रधानमन्त्री कोइराला तीनपटक मात्र बालुवाटारबाट बाहिर निस्केका छन् । डाक्टरले प्रधानमन्त्री कोइरालालाई भीडभाडमा नजान सल्लाह दिएका छन् ।

रेडियोथेरापी गरेको कम्तीमा एक महिनासम्म प्रतिरक्षा प्रणाली कमजोर हुने भएकाले भीडभाडमा नजान र आराम गर्न डाक्टरहरूले सल्लाह दिएका थिए । फोक्सोको क्यान्सरको उपचार गराएर अमेरिकाबाट फर्केपछि डाक्टरहरूले उनको नियमित स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

नियमित परीक्षणमा उल्लेख्य सुधार भएको प्रधानमन्त्रीका निजी डाक्टर करवीरनाथ योगीले दाबी गरे । ‘हामीले नियमित परीक्षण गरिरहेका छौँ । प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ,’ योगीले भने ।

प्रधानमन्त्रीको नियमित हेरचाह गर्ने सहयोगीहरूले केही दिनयता कोइरालाको खानामा रुचि बढ्दै गएको र उनले नियमित काम सामान्य रूपले गरिरहेको बताएका छन् । ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा दिन प्रतिदिन सुधार भइरहेको छ । उहाँले भेटघाट पनि सामान्य रूपले गरिरहनुभएको छ,’ प्रधानमन्त्रीकी सहयोगी मृदुला कोइरालाले भनिन्, ‘केही दिन भीडभाडमा नजान डाक्टरहरूले सल्लाह दिएका छन् । केही दिनसम्म उहाँ भीडभाडमा नजानुभएको मात्र हो । उहाँको सबै काम सामान्य नै छ ।’

अमेरिकाबाट फर्केपछि सुरुमा प्रधानमन्त्री कोइराला राष्ट्रपतिलाई भेट्न बालुवाटारबाट बाहिरिएका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा १८ साउनमा स्वागत गर्न विमानस्थल पुगेका थिए । १९ साउनमा औपचारिक भेटवार्ताका लागि सिंहदरबार पुगेका थिए । त्यसयता प्रधानमन्त्री कोइराला बालुवाटारबाट बाहिरिएका छैनन् ।

बालुवाटारमा प्रधानमन्त्रीको जीवनचर्या सामान्य रहेको सहयोगीहरू बताउँछन् । ‘प्रधानमन्त्रीज्यूको अमेरिका जानुअघिको जस्तो जीवनचर्या थियो, अहिले पनि त्यस्तै छ, खासै परिवर्तन छैन,’ सहयोगी मृदुलाले भनिन्, ‘तर, डाक्टरको सल्लाहअनुसार उहाँले केही दिन आराम गर्नुपर्ने हुन्छ ।’

अमेरिकाबाट फर्केपछि प्रधानमन्त्री कोइराला बिहान ६ बजे उठ्ने गरेका छन् । राति साढे ९ देखि १० बजेभित्र ओछ्यानमा पुग्छन् । दिउँसो पनि उनी केही समय सुत्ने गरेका छन् ।

दबाबमा कोइराला
प्रधानमन्त्री कोइराला अहिले चौतर्फी दबाबमा छन् । आफ्नै स्वास्थ्य समस्या, कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउन दबाब र सत्तागठबन्धन दल एमालेको असन्तुष्टिले कोइरालामाथि दबाब छ । एमालेले राष्ट्रपति र उपराष्ट्रपतिलाई संसद्बाट अनुमोदन गराउनुपर्ने र सरकारका काममा ढिलासुस्ती भएको भन्दै प्रधानमन्त्री कोइरालासँग असन्तुष्टि राखेको छ । कांग्रेसभित्रै पनि सरकारको आलोचना भइरहेको छ । सरकारले काम गर्न नसकेको आलोचना विपक्षी दलहरूले पनि लगाइरहेका छन् ।

‘ढिलासुस्तीमा एमाले जिम्मेवार’
बाहिर चर्चा गरिएजस्तो स्वास्थ्य अवस्था कमजोर नभएकाले प्रधानमन्त्री सुशील कोइराला तत्काल विश्राम लिने मुडमा छैनन् । संवैधानिक निकायमा नियुक्ति, २६ सभासद् मनोनयन, राजदूत नियुक्तिलगायतका काममा ढिलो हुनुमा प्रधानमन्त्रीको स्वास्थ्य प्रमुख कारण नभएको कांग्रेसको दाबी छ ।

‘एमालेको कारण संविधानसभामा रिक्त २६ सभासद् मनोनयन हुन नसकेको हो । अरू विषयमा काम नहुनुमा पनि एमाले जिम्मेवार छ,’ कांग्रेस प्रवक्ता दिलेन्द्र बडूले नयाँ पत्रिकासित भने, ‘अब प्रधानमन्त्री अमेरिका जानुअगाडि नै रिक्त २६ सभासद् मनोनयन भइसक्नेछन् । संवैधानिक निकायमा पनि नियुक्ति भइसक्नेछ । प्रधानमन्त्रीज्यू सक्दो चाँडो रिक्त निकायमा नियुक्ति तथा सभासद् मनोनयन गर्ने पक्षमा हुनुहुन्छ ।’ नयाँपत्रिका


  •  
  •  
  •