काठमाडौं २१ भदौ (ओएनएस) :
प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत दल र पक्षका माग सम्वोधन गर्न अधिकतम प्रयास भइरहेको बताएका छन् । अझै पनि माग पुरा गर्ने बाटो अन्तय भइनसकेको प्रधानमन्त्रीले बताए ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ३६ औं प्राज्ञसभामा प्रधानमन्त्री कोइरालाले हिंसात्मक बाटो छाडेर शान्तिपूर्ण बाटोबाटै समस्याको समाधान खोज्न आग्रह गरे । प्राज्ञसभा प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको थियो ।
प्रधानमन्त्रीले अहिलेको संविधान बन्न नसके कहिल्यै नबन्ने दावी गरे । अधिकतम् सहमतिमा संविधान बन्न लागेको भन्दै उनले शान्ति र स्थायित्वका लागि सबैले सहयोग गर्नुपर्ने स्पष्ट पारे ।
प्रधानमन्त्री कोइरालाले विज्ञान प्रविधि क्षेत्र समयानुकुल अघि बढ्न नसकेको भन्दै कृषि, हाइड्रोपावर तथा प्राकृतिक स्रोत साधनको उपयोगमा वैज्ञानिक विकास हुन नसकेको गुनासो गरे ।