काठमाडौ, ३० पुस (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको विषयलाई यसपटक संविधानसभाले टुंगोमा पुर्याउन चाहेको बताएका छन् ।
प्रधानमन्त्री कोइरालाले नेपालको भ्रमणमा आएका संयुक्त राष्ट्र संघका राजनीतिक मामिलासंबन्धी उपमहासचिव जेफ्रि फेल्टम्यानसँग बुधबार बिहान भेट गर्दै भने “हामी संविधान निर्माणको विषयलाई टुंगोमा पुर्याउन चाहान्छौ, यस पटक ल्याएर पनि छाड्छौ।”
प्रधानमन्त्री कोइरालाले नेपाली जनताले अहिले आन्दोलन,बन्द ,हड्ताल लगायतका दबाब नचाहेको बताउदै भने ,“ यो मुलुकले अब अशान्ति,अस्थिरता र आन्दोलन धान्न सक्दैन ।” प्रधानमन्त्री कोइरालाले नेपाली जनताले लोकतन्त्र र दिगो शान्तिको लागि ६ दशकभन्दा बढी निरन्तर संघर्ष गर्न परेकोले विकासमा ध्यान दिन नपाएको उल्लेख गर्दै भने ,“ हामी आउने सन्ततिले लोकतन्त्र र दिगो शान्तिका लागि संघर्ष गर्न नपरोस भनेर प्राप्त उपलब्धिहरु जति सक्दो छिटो संस्थागत गर्न लालयित छौ ।”
उनले आफू निर्वाचित प्रधानमन्त्री र नेपालको सबैभन्दा ठूलो र प्रजातान्त्रिक पार्टीको सभापतिको हैसियतले संविधान निर्माणमा सरिक सबै राजनीतिक दलहरुले अपनत्व स्वीकार गर्ने गरी “वीन वीन सिचुएसन” सिर्जना गरी संविधान ल्याउन तयार भएको पनि बताउनु बताए । उहाँले यसका लागि “गिभ एण्ड टेक” गर्न पनि आफू तयार भएको तर एकथरी साथीहरु धेरै संख्या भए जातीयताका आधारमा प्रदेशको नामांकन गर्न नपर्ने र थोरै भए जातीयताका आधारमा नामाङ्कन गर्ने आधारहीन प्रस्ताव लिएर बस्नुभएको पनि बताए ।
प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका सन्दर्भमा नेपाली कांग्रेस , सत्ता साझेदार एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका केही दलहरु अत्यन्त लचिलो भएर प्रस्तुत भएको पनि बताए । प्रधानमन्त्री कोइरालाले निर्वाचन प्रणालीका सन्दर्भमा महिला,दलित र अन्य मूलधारमा नसमेटिएका बर्गका लागि आरक्षित प्रणाली अपनाउने विकल्पमा पनि विमर्श भएको तर केही दलहरु मिश्रित प्रणाली मै रहन चाहेको पनि उल्लेख गरे ।
त्यस्तै शासकीय स्वरुपका सम्बन्धमा लोकतान्त्रिक दलहरुले नियन्त्रण र सन्तुलनको व्यवस्था हुने संसदीय पद्धतिमा अधिनायकवादी शासक जन्मिने संभावना कम हुने भएकोले यसमा लगभग सहमति जनाएको पनि बताए ।
भेटका अवसरमा राष्ट्रसंघीय उपमहासचिव फेल्टम्यानले राष्ट्र संघका महासचिव वान की मुन नेपालको संविधान निर्माणप्रति निकै आशावादी रहेको पनि बताए । उनले शान्ति प्रकृयामा तार्किक निष्कर्षमा पु-याउन सबैले देखाएको धैर्य र संयमको सराहना गर्दै त्यस्तै भावनाले संविधान निर्माण गर्नुपर्ने बताए । उनले नेपालको शान्ति प्रकृयाले जस्तै संविधान निर्माण प्रकृयाले पनि विश्वको ध्यानाकृष्ट गरेको पनि बताए ।