अदालतभित्रको समस्याकाे समाधान उसैले निकाल्न सक्छ: प्रधानमन्त्री

60
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश र अदालतका बारेमा सरकार र आफ्नो पार्टीले केही नबोल्ने बताएका छन् । नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले बुधबार आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले भने, ‘यो अदालतभित्रको कुरा हो, उसैले यसको समाधान निकाल्न सक्छ ।’
यस्तै अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको उनले बताए । उनले भने, ‘केपी शर्मा ओलीलाई संसद् भङ्ग गर्ने अधिकार संविधानले दिएको थिएन, संविधानले नदिएको अधिकारलाई दुई÷दुईपटक प्रयोग गर्दा सर्वोच्च अदालतले संविधान बचाएको हो ।’
पाँच दलको गठबन्धनबाट बनेको सरकारसँग स्पष्ट बहुमत रहेकाले जनादेश छैन भन्नुको कुनै अर्थ नरहेको प्रधानमन्त्री देउवाले बताए ।
उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट भर्खरै राजीनामा दिएका गजेन्द्र हमाल कांग्रेसकै नेता भएको समेत स्पष्ट पारे । प्रधानमन्त्री देउवाले पार्टीको १४ औँ महाधिवेशनलाई सफल बनाउन तरुण युवाको महत्वपूर्ण भूमिका रहेको बताए ।

सो अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनमा अनवरत योगदान गर्दै देशलाई सक्षम नेतृत्व दिनुभएका युवाहरुका प्रेरणाका स्रोत प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले अभिनन्दन पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा तरुण दलका पूर्वाध्यक्ष एवं गृहमन्त्री बालकृष्ण खाँणले पार्टीलाई सबल, सुढृढ र सफल बनाउन तरुण युवाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले लोकतन्त्रको रक्षा तथा पार्टीको विचारलाई संस्थागत गर्न र पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तरुण युवाहरु लाग्नुपर्ने बताए ।
तरुण दलका पूर्वाध्यक्ष एवम् पूर्वमन्त्री महेन्द्र यादवले पार्टीलाई बलियो बनाउन तरुण दल एकजुट र क्रियाशील हुनुपर्नेमा जोड दिँदै आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन तरुण युवाको महत्वपूर्ण भूमिका रहेको बताए । तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले पार्टीलाई बलियो बनाउन र अन्याय, विकृति र विसङ्गतिकाविरुद्ध सधैँ तरुण दल खरो भएर उभिने बताए ।


  •  
  •  
  •