प्रधानमन्त्री कप जेठमा हुने

593
  •  
  •  
  •  

काठमाडौं, २२वैशाख(ओएनएस) : राष्ट्रिय खेलकुद परिषद्को आयोजना एवं नेपालय इन्टरनेश्नलको व्यवस्थापनमा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ ।


आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही जेठ १ देखि २४ गतेसम्म कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा हुने जनाइएको छ ।

२३ दिनसम्म चल्ने प्रतियोगितामा हरेक दिन १ खेल हुनेछ । प्रतियोगितामा ३ विभागीय र ७ प्रदेशका गरी १० टिमको सहभागिता हुनेछ । १० टिमलाई दुई समूहमा विभाजन गरेर लिगका खेलहरु सञ्चालन हुनेछन् । समूहका शीर्ष २–२ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

यो प्रतियोगिताको कुल बजेट १ करोड ७५ लाख रुपैयाँ रहेको छ । जसमा परिषद्ले ८० लाख रुपैयाँ उपलब्ध गराउनेछ भने बाँकी रकम नेपालय इन्टरनेश्नलले जुटाउनेछ ।

प्रतियोगिताको पुरस्कारका लाथि मात्र करीव ५० लाख रुपैयाँ खर्च हुनेछ । विजेताले २० लाख पाउने छ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने छ भने उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान ५० ÷ ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यसैगरी खेल हेर्न पुगेका दर्शकले ‘सिंगल ह्याण्डेड’ क्याच लिएमा ५० हजार नगद पुरस्कार पनि व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रतियोगिता सञ्चालन गर्ने सम्बन्धमा नेपालय इन्टरनेशनल र राखेपबीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ । समम्झौता पत्रमा राखेपका सदस्य सचिव केशब कुमार विष्ट र नेपालय इन्टरनेश्नलका तर्फबाट सुवासचन्द्र प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौता यसै प्रतियोगिता आयोजना गर्नका लागि रहेको सदस्यसचिव विष्टले बताए ।

५० ओभरको खेल नभइरहेका बेला यस्तो प्रतियोगिताले नेपाली क्रिकेटको विकासमा योगदान पुग्ने सदस्य सचिव विष्टको भनाई थियो । जेठको महिनामा गर्मी केही हदसम्म हुने भएपनि सबैको सहमति लिएर प्रतियोगिता सञ्चालन गर्न लागिएको बताए । उनले पुरस्कारको रकम र मैदानको खर्च राखेपले व्यहोर्न पनि प्रष्ट पारे ।

नेपालय इन्टरनेश्नका प्रधानले नेपालले एक दिवसीय मान्यता पाए पनि ५० ओभरको खेल हुन नसकिरहेको अवस्थामा यस्तो प्रतियोगिताले खेलाडीलाई फाइदा पुग्ने बताए ।


  •  
  •  
  •