प्रधानमन्त्री कोइराला स्वदेश फिर्ता

82
  •  
  •  
  •  

काठमाडौं, १६ असोज (ओएनएस):  प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा भाग लिएर स्वदेश फर्र्किएका छन् । राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री कोइराला नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ३ गते अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका थिए।

स्वदेश फर्किएपछि प्रधानमन्त्री कोइरालाले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै समग्रमा भ्रमण उपलब्धीमूलक भएको बताए।प्रधानमन्त्री कोइरालाले राष्ट्र संघको महासभामा नेपालको शान्तिप्रक्रिया र संविधान निर्माणका बारेमा अन्तरराष्ट्रिय समुदायलाई अवगत गराएको तथा पछिल्ला क्रममा हासिल उपलब्धी संस्थागत गर्न अन्तरराष्ट्रिय मुलुकको सद्भाव र सहयोगको निरन्तरता रहने आश्वासन प्राप्त भएको जानकारी दिए।

उनले राष्ट्रसंघको वडापत्र, आतंकवादविरुद्धको लडाईं तथा विश्व शान्तिका लागि नेपालका तर्फबाट प्रतिबद्धता व्यक्त गरेको बताए।प्रधानमन्त्री कोइरालाले जलवायु परिवर्तन तथा विभिन्न समस्याको सम्बोधन गर्न नेपालजस्ता मुलुकलाई आर्थिक सहायता हुनुपर्नेमा जोड दिएको बताए । विश्वका शक्ति राष्ट्रसँग नेपालको सम्बन्ध सुदृढ बनाउन आफूले पहल गरेको कोइरालाको भनाई थियो । राष्ट्रसंघ महासभाको अवधिमा नेपाली प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री तहमा विभिन्न उच्चस्तरीय बैठकमा पनि सहभागिता जनाएको थियो ।

अर्को एक प्रसंगमा प्रधानमन्त्री कोइरालाले वार्ता र छलफलका माध्यमबाट तोकिएको समयमा संविधान जारी हुनेमा ढुक्क हुन आग्रह गरे । अन्तरराष्ट्रिय समुदायसमेत नेपालको संविधान निर्माणमा चिन्तित भएको भन्दै प्रधानमन्त्री कोइरालाले परिवर्तनका उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्नु जरुरी रहेको बताए।

भ्रमणको अवसरमा प्रधानमन्त्री कोइरालाले न्युयोर्कमा आफ्नो स्वास्थ्य परीक्षण समेत गराउनुभएको थियो । यसपटकको फलो अपबाट प्राप्त स्वास्थ्य प्रगति विवरणले आफू स्वस्थ्य रहेको महशुस गरेको उहाँको भनाई थियो । राष्ट्रसंघको ६९ औं महासभामा भाग लिएर प्रधानमन्त्री कोइराला युरोपियन राष्ट्रहरुको भ्रमण गर्दै स्वदेश फर्किनुभएको हो ।


  •  
  •  
  •