काठमाडौं ८ चैत (ओएनएस) : प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणका क्रममा आज महत्वपूर्ण भेटवार्ता गर्ने भएकानछ् । आजै महत्वपूर्ण सम्झौता पनि हुनेछन् । आफ्नो एकसाता लामो औपचारिक चीन भ्रमणका लागि ठूलो टोलीसहित हिजो प्रधानमन्त्री बेइजिंग पुगेका छन्।
करिब आधा दर्जन दुई पक्षीय सम्झौता र समझदारीमा हस्ताक्षरको हुने तयारी छ । चीन बसाइको सबैभन्दा महत्वपूर्ण दिन आज प्रधानमन्त्रीले चिनियां राष्ट्रपति र प्रधानमन्त्रीसंग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।
२०६२, ०६३ को जनआन्दोलनपछि उत्तरी छिमेकी चीनको औपचारिक भ्रमण गर्ने ओली दोस्रो नेपाली प्रधानमन्त्री बनेका छन्।
जनआन्दोलनयताका ८ सरकारप्रमुखमध्ये केही, अन्य कार्यक्रममा चीन पुगेपनि माधवकुमार नेपालबाहेकलाई उत्तरी छिमेकीको औपचारिक भ्रमणमा गएका थिएनन ।
तेस्रो मुलुकबाट वस्तु आयात निर्यातका लागि भारतीय बन्दरगाहामा मात्रै आश्रित नेपालका लागि महत्वपूर्ण ठानिएको पारवहन सम्झौताको कार्यसूची पनि ओलीको चीन बसाइमा छ।
चीनका लागि नेपाली राजदूत महेश मास्केको बुझाइमा पारवहन सम्झौता महत्वपूर्ण नीतिगत पाइला हुनेछ तर आलोचकहरु भन्छन्, बन्दरगाह पहिचान लगायतका विषयले व्यवहारिक रुप पाउन थप चरणहरु पार गर्नुपर्ने भएकाले उक्त सम्झौताको परिणाम तत्काल भने देखिने छैन।
अन्तरदेशीय प्रसारण लाइन, जलविद्युत विकास, ब्याकिंग सूचना आदानप्रदान, इन्धन भण्डारण स्थल निर्माण लगायतका विषय पनि प्रधानमन्त्रीको भ्रमण सूचीमा छन्।
ओलीले आज चिनियां समकक्षी ली खछ्यांगसंग भेटेपछि करिब आधा दर्जन सम्झौता र समझदारीपत्रमा हस्ताक्षरको योजना छ। आज नै चिनियां राष्ट्रपति सी जिंगपिंगसंग भेट्ने ओलीले मंगलबार बेइजिंगस्थित एउटा विश्वविद्यालयमा प्रवचन दिनेछन् र चिनियां व्यापारीहरुसंग अन्तक्रिया गर्नेछन्।