प्रधानमन्त्री ८ दिने भ्रमणका लागि आज चीन जाँदै

277
  •  
  •  
  •  

काठमाडौं ७ चैत (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि उत्तरी छिमेकी राष्ट्र चीनको भ्रमणमा जादैछन् । प्रधानमन्त्री  ओली ८ दिने भ्रमणका लागि आइतबार उत्तरी छिमेकी चीन प्रस्थान गर्दैछन् । भारततर्फको परनिर्भरता कम गर्ने उद्देश्य भएको ठानिएको उनको भ्रमणले त्यो चिर्न नसक्ने भएपछि यतिबेला भ्रमण एजेन्डाविहीन झैं बनेको छ । यद्यपि उनको चीन भ्रमण तालिका भारत भ्रमणको जस्तै छ ।

चीनसँग व्यापार, लगानी, पर्यटन, दुईदेशीय परियोजनामा सम्झौता गर्ने गृहकार्य सरकारले गरेको छ । पहिलो र्चामा रहेको इन्धन खरिद सम्झौता भने नहुने भएको छ ।   भ्रमणमा स्वतन्त्र व्यापार सम्झौता (एफटिए) गर्ने तयारी छ । नेपालले यससम्बन्धी पठाएको प्रस्तावमा चीनले सकारात्मक जवाफ पठाइसकेको छ । चीनले ०६९ मा बिप्पाको मस्यौदा प्रस्ताव गरेको थियो । नेपालले ०७१ मंसिरमा मस्यौदा अध्ययन गरेर जवाफ पठाएपछि चीनले चासो दिएको छैन ।

प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल उनको भ्रमण टोलीमा रहेका छन् । यसअलावा प्रधानमन्त्री-पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, सरकारमा सामेल र प्रमुख प्रतिपक्ष दलका सांसदसमेत भ्रमण दलमा छन् ।

 प्रधानमन्त्रीको औपचारिक टोलीको सदस्य संख्या ५६ पुगेको छ भने व्यापारी र निजी क्षेत्रका व्यक्ति पनि यसमा थपिनेछन् । यस पटक चीनले नेपाली आतिथ्यमा समेत कम गरेको छ । यसअघि २० भन्दा बढीसम्मलाई आफ्नो खर्च बेहोर्ने चीनले अहिले ११ जनालाई मात्र सरकारी खर्चमा बोलाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङसँग समेत भेटवार्ता गर्नेछन् । उनी गएको भोलिपल्ट नै समकक्षी लीसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ ।

पारस्परिक हित र साझा चासोका विषयमा द्विपक्षीय औपचारिक वार्ता हुने परराष्ट्रले जनाएको छ । वार्तालगत्तै केही समझदारीमा हस्ताक्षर हुनेछ । पारवहन सम्झौता, पिट्रेड समझदारी, नेपालमा चिनियाँ बैंकको शाखा विस्तार, भगिनी सहर, काठमाडौंमा मोनो रेल, तातोपानी नाका सुचारु, केरुङ जोड्ने सडक दुई लेन थपेर चार लेन बनाउने, विद्युत् परियोजनामा लगानी, सांघाई सहयोग संगठनको डाइलग पार्टनरको सदस्यतासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

यस्तो छ भ्रमण कार्यतालिका

प्रधानमन्त्रीको अलावा एमाले अध्यक्षको हैसियतमा चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभका अध्यक्ष यु झेङसेङसँग भेटवार्ता गर्ने

रेनमिन विश्वविद्यालयमा प्रवचन दिने

चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन सम्बन्धमा नेपाली र चिनियाँ व्यापारीको उपस्थितिमा आयोजना हुने सभालाई सम्बोधन गर्ने

नेपालमा लगानी गर्न सुरक्षित रहेको धारणा प्रस्तुत गर्ने

बेइजिङबाट बोआओ आउनुअघि उनले नेपाली दूतावासमा हुने समारोहमा सञ्चारकर्मीसँग अन्तक्रिर्यासमेत गर्ने

बेइजिङमा राजनीतिक भेटघाटपछि  हेनान प्रान्त पुग्ने

 बोआओमा आयोजना हुने एसियाका लागि बोआओ मञ्चको ‘एसियाको नयाँ भविष्य : नवीन आयाम, नवीन दृष्टिकोण’ विषयक सम्मेलनमा चैत ११ मा अतिथिका रूपमा सम्बोधन गर्ने

 बोआओमा सम्बोधन गरेपछि उनी सान्याको नान्सानमा रहेको नेपाल पेभिलियनको भ्रमण गर्ने

सिचुवानको छेन्दु र सान्सी प्रान्तको सियान पुग्ने प्रधानमन्त्रीले त्यहाँ प्रान्तीय नेताहरूलाई भेट्ने


  •  
  •  
  •