प्रधानमन्त्रीले त्रिपक्षीय वार्ता बोलाउने

153
  •  
  •  
  •  

काठमाडौं १३ ।
लामो समयदेखि तराई मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्न त्रिपक्षीय बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनमै सरकार, प्रमुख प्रतिपक्ष कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाका नेताहरूको संयुक्त बैठक बोलाउने भएका छन् । तर, कुन दिन बैठक बोलाउने भन्ने विषयमा ओली निर्णयमा पुग्न सकेका छैनन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार साँझ प्रधानमन्त्री ओली र कांग्रेस सभापति सुशील कोइरालासँग तराई मधेसको समस्या र नाकाबन्दीको समस्याबारे छुट्टाछुट्टै छलफल गरेपछि ओली त्रिपक्षीय बैठक बोलाउन सहमत भएका हुन् ।

‘प्रधानमन्त्री ओलीले छिटै सरकार, प्रमुख प्रतिपक्ष र मधेसी मोर्चाको बैठक बोलाउनुहुने भएको छ,’ ओली–प्रचण्ड भेटपछि एमाओवादी केन्द्रीय सदस्य तथा प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले नयाँ पत्रिकासँग भने । पार्टीको आसन्न केन्द्रीय समिति बैठकका लागि दस्ताबेज लेख्न व्यस्त प्रचण्ड शनिबार साँझ कांग्ेरस सभापति कोइरालालाई भेट्न उनको निवास महाराजगन्ज र ओली भेट्न प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । कोइराला अमेरिकाबाट फर्केपछि दुई नेताबीच पहिलोपटक भेट भएको हो ।

कोइरालालाई भेटेपछि प्रचण्ड ओली भेट्न बालुवाटार पुगेका थिए । प्रचण्डले प्रधानमन्त्री ओलीलाई मधेस र थरुहटको समस्या समाधानका लागि पहल लिन आग्रह गरेका छन् । उनले नाकाबन्दीका कारण जनताले धेरै दु:ख पाइसकेकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै कूटनीतिक पहलबाट नाकाबन्दी खोल्न र वैकल्पिक नाकाहरू खोल्ने पहल गर्ने आग्रहसमेत गरेका छन् ।

‘नाकाबन्दीका कारण जनताले धेरै दु:ख भोगिसके । राष्ट्रिय संकट बढ्दै छ । मधेस र थरुहटको समस्या समाधानका लागि तपाईंले पहल लिनुपर्‍यो,’ दुई नेताबीचको भेटमा प्रचण्डको भनाइ उद्धृत गर्दै खड्काले भने, ‘नाकाबन्दीबारे कूटनीतिक पहल गर्नुपर्‍यो, अन्य नाकाहरू खोल्ने विकल्प लिनुपर्‍यो ।’ प्रचण्डले कोइरालासँग भएको छलफलको जानकारी गराउँदै त्रिपक्षीय वार्ता बोलाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । ‘त्रिपक्षीय वार्तामा बसौँ । साझा मिलनविन्दु खोजेर छिटो समस्या समाधान गरौँ,’ उनको भनाइ थियो ।

प्रचण्डको आग्रहमा प्रधानमन्त्री सकारात्मक भएको खड्काले बताए । ‘प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, छिटै त्रिपक्षीय वार्ता बोलाउनुहुन्छ,’ उनले भने । कोइरालासँगको भेटमा पनि प्रचण्डले त्रिपक्षीय वार्तामा जोड दिएका थिए । उनले प्रमुख तीन पार्टी मिलेर संविधान जारी गरेकाले संविधानको कार्यान्वयन र देशको राष्ट्रिय संकटको समाधान गर्न पनि तीन पार्टी एक ठाउँमा आउनुको विकल्प नभएको बताएका थिए । ‘हामी तीन पार्टी एक ठाउँमा आएर संविधान जारी गर्‍यौँ ।

अबको चुनौतीको सामना गर्न र संविधानको कार्यान्वयनका लागि पनि एक ठाउँमा आउनुको विकल्प छैन,’ प्रचण्डको भनाइ थियो, ‘मधेसको समस्याबारे तीन शक्ति सरकार, प्रतिपक्षी र आन्दोलनरत पक्ष एक ठाउँमा बसौँ । साझा मिलनविन्दु खोजेर छिटोभन्दा छिटो समस्याको समाधान गरौँ । राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर साझा विन्दु खोजौँ ।’ सभापति कोइरालाले समस्या समाधानका लागि आफ्नो नेतृत्वको सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्ताव अगाडि बढाउनुपर्ने भन्दै प्रचण्डको समर्थन मागेका थिए । तर, प्रचण्डले आन्दोलनरत मधेसी मोर्चाको सहमतिमा मात्रै संविधान संशोधन गर्नुपर्ने बताएका थिए ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •