बालुवाटारबाट चल्छ सिंहदरबार

214
  •  
  •  
  •  

काठमाडौं २३ कात्तिक ।
प्रधानमन्त्री सुशील कोइराला बिरामी परेपछि सरकार सञ्चालनको महत्वपूर्ण निर्णय सिंहदरबारको सट्टा बालुवाटारबाट हुन थालेको छ । क्यान्सर उपचारको लागि असारमा अमेरिका गएर फर्किएदेखि नै प्रधानमन्त्री सुशील कोइरालाले धेरैजसो काम बालुवाटारबाटै गर्छन् ।

प्रधानमन्त्री कोइरालामा देखिएको क्यान्सरको निदान हुने अवस्थामा छ । तर, स्वास्थ्यमा सुधार हुँदै गएपनि प्रधानमन्त्री सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय जादैनन् । प्रधानमन्त्री निकट स्रोतले बताए अनुसार प्रधानमन्त्री हरेक हप्ता मन्त्रिपरिषद्को बैठकको लागि मात्रै सिंहदरबार जान्छन् । बाँकी समय उनी प्रधानमन्त्री निवासमै बिताउछन् ।

पछिल्ला दिनमा, संबिधान निर्माण र सरकार सञ्चालनका अधिकांश महत्वपूर्ण बैठकहरु प्रधानमन्त्री निवास बालुवाटारमै हुन थालेका छन् । प्रधानमन्त्रीबाट कुनै निर्णय गराउनुपर्ने भए वा कुनै बिषयमा छलफल गर्नुपर्ने भए सबै राजनीतिक दलका नेतादेखि सरकारी अधिकारी र मन्त्रीहरु पनि प्रधानमन्त्री निवास पुग्ने गरेका छन् ।

प्रधानमन्त्री कोइरालाको निस्त्रिmय बानीका कारण मन्त्रिपरिषद्का सदस्य अप्ठेरोमा परेका छन् भने सरकारी काम प्रभावित भएको छ । प्रधानमन्त्री कार्यालयका अधिकारीसमेत प्रधानमन्त्री कोइरालालाई विरलै भेट्छन् ।

‘प्रधानमन्त्रीसँग हाम्रो सिधा भेट कमै हुन्छ, हामी मुख्यसचिव मार्फत उहासँग संवाद गछौं’, प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने,’प्रधानमन्त्री नियमित कार्यालय आउने हो भने कार्यालयका काम धेरै नै प्रभावकारी हुन्छ ।’

बिषयगत संवेदनशीलता र समय खर्चिलो हुने कारणले प्रधानमन्त्रीलाई बि्रफ्रिङ गर्नकै लागि सधैं सिंहदरबारबाट बालुवाटार पुग्नु झन्झटिलो भएको उनी बताउँछन् ।

प्रधानमनत्री सिंहदरबारस्थित आफ्नो कार्यालयमा हुँदा मुख्यसचिवसहित वरिष्ठ सरकारी अधिकारीले महत्वपूर्ण बिषयमा तत्का छलफल गर्न पाउथे । ‘तर प्रधानमन्त्री निवास पुग्दा यस्तो सुविधा हुन्न । कहिलेकाही उहाँ सामान्य काममा पनि व्यस्त भइदिनु हुन्छ’, एक सरकारी सचिवले भने,’प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने भए मुख्य सचिव वा प्रधानमन्त्रीका सहयोगीमार्फत भन्छौं ।’

पहिलो पटक अमेरिकामा उपचार गराएर फर्किएलगत्तै प्रधानमन्त्रीले कामलाई तीब्रता दिने प्रतिबद्धता जनाएका थिए, जतिबेला उनको कमजोर स्वास्थ्यस्थितिका कारण सरकारको गति ढिला भएको भन्दै आलोचना सुरु भएको थियो ।

कोइरालाको स्वास्थ्य समस्या र कार्यालयमा अनुपस्थित रहने उनको बानीका कारण जनतामा उनको नेतृत्वप्रति आशंका उब्जिएको छ । कोइरालाको अनुशासित र सामान्य जीवनशैलीको केहीले प्रशंसा गरे पनि प्रधानमन्त्री भएपछि उनको यो छविको औचित्य देखिएको छैन् ।

‘प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना दाजू पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सिको गरेको हुनसक्छ, उनी पनि आफ्नो निवासबाट प्रधानमनत्री कार्यालय सञ्चालन गर्ने गर्दथे तर यि दुई प्रधानमन्त्रीबीच धेरै फरक छ साथैै देशको अवस्था र समय परिस्थिति पनि फेरिएको छ’, पूर्व गृहसचिव गोविन्द कुसुम भन्छन्,’प्रधानमन्त्री नियमित कार्यालय जाँदैनन् भने त्यसको प्रत्यक्ष प्रभाव सरकारको काममा पर्छ ।’

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारी आवश्यक पर्दा प्रधानमन्त्री सिंहदरबार जाने गरेको बताउछन् । उनी भन्छन्,’थोरै सहभागी हुने खालको केही बैठक उहाँ बालुवाटारमै राख्नुहुन्छ । फेरि सिंहदरबार मर्मतको काम पनि भइरहेको छ ।’

कान्तिपुरबाट


  •  
  •  
  •