काठमाडौं ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध दलका नेताहरूले प्रधानमन्त्री केपी ओलीले गरेको वार्ता आह्वान अस्वीकार गरेका छन् । मोर्चाले सरकारसमक्ष सात महिनाअघि पेश गरेको ११ बुँदे मागपत्रबारे प्रधानमन्त्री मौन रहेको भन्दै उनीहरुले वार्ता प्रस्ताव अस्वीकार गरेका हुन् । उनीहरुले बिहीबार दिउँसो राजधानीमा बैठक गर्दै आन्दोलनको नयाँ तिथि घोषणा गर्ने चेतावनीसमेत दिएका छन् ।
‘त्यस (सम्बोधन) को कुनै अर्थ छैन, हामीले कत्ति पनि महत्व दिएका छैनौं,’ संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले भने, ‘११ बुँदे मागपत्रबारे उहाँले केही बोलेको भए सोच्न सकिन्थ्यो, हामी आन्दोलनको तयारीमा छौं ।’
बिहीबार दिउँसो २ बजे राजधानीस्थित फोरम कार्यालयमा मोर्चासहित संघीय गठबन्धन आबद्ध जनजाति दल र मोर्चा, पद्मरत्न तुलाधर नेतृत्वको संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको बैठक गरी थप आन्दोलनका कार्यक्रम अघि सार्ने यादवले जानकारी दिए ।
यसअघि मंगलबार नयाँ वर्षको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीको सन्देशमा संवाद प्रक्रियामा आउन आग्रह थियो । ‘संवादमा आउनुहोस्, लोकतान्त्रिक विधिबाट हल नहुने कुनै कुरा छैन,’ ओलीको सन्देश थियो, ‘प्रधानमन्त्री संयोजक रहने गरी उच्चस्तरीय राजनीतिक समिति बनाइसकेको छ । त्यस समितिमा संलग्न हुन र सार्थक संवादमा सामेल हुन मेरो हार्दिक आग्रह छ ।’
ओलीले उपप्रधानमन्त्री कमल थापा नेतृत्वको राजनीतिक संयन्त्रमा भाग लिन समेत मोर्चालाई आह्वान गरे पनि मोर्चाले चैत मसान्तसम्म माग सम्बोधन गर्न समय सीमा दिएकोबारे भने उल्लेख गरेनन् । मोर्चा नेताले माग सम्बोधन गर्न भन्दै प्रधानमन्त्रीलाई फागुन २८ गते स्मरणपत्र बुझाएका थिए ।
‘प्रधानमन्त्रीले मोर्चाको मागप्रति आफूलाई गम्भीर देखाएर जनमत बटुल्न खोज्नुभएको छ, हाम्रो स्मरणपत्रबारे कुनै गृहकार्य नगर्ने, उल्टै मधेसमा गिरफ्तारी बढाउदै जाने, घाइतेको उपचार नगर्ने काम भइरहेको छ,’ तराई मधेस लोकतान्त्रिक पार्टी उपाध्यक्ष हृदयेश त्रिपाठीले भने, ‘उहाँले ठोस र गम्भीर प्रयत्न गर्नुको साटो सार्वजनिक खपतका लागि बोलेर सबैलाई मूर्ख बनाउन खोज्नुभयो ।’ त्रिपाठीले आन्दोलनमा जानुको विकल्प नहुने दाबी गरे ।
सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले वैशाख ६ देखि नै आन्दोलनमा जाने आफूहरुको योजना सुनाए । प्रधानमन्त्रीले जनताको नाममा गरेको सम्बोधन औचित्यहिन रहेको उनको आरोप थियो । ‘यसले न त जनतालाई एक पैसाको राहत दिन्छ, न त आन्दोलनकारीको मागलाई नै सम्बोधन गर्छ,’ महतोले राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा कटाक्ष गरे, ‘हामीले वार्ताको लागि आन्दोलन स्थगित गर्दा उहाहरु कानमा तेल हालेर बस्नुभयो तर हामीले वार्ताको लागि फेरि अल्टिमेटम दिदा कुनै वास्ता गर्नुभएन, उहाँ मुलुकलाई निकास दिने पक्षमा नदेखिएकाले अब वार्ताको सम्भावना छैन ।’ उनले अबको आन्दोलन जनतालाई दु:ख दिने र नाकाबन्दीजस्ता नहुने बताउँदै राजधानी केन्द्रित हुने समेत प्रष्ट पारे ।
नेपाल सदभावना पार्टी अध्यक्ष अनिलकुमार झाले पनि मोर्चाको मुद्दा सम्बोधन गर्नेबारे वक्तव्यमा कुनै प्रतिबद्धता नआएको भन्दै विरोध गरे ।
कान्तिपुरबाट