विकास समितिलाई प्रधानमन्त्रीले भनेः ठुलो हलमा दिनभरी छलफल राख्नुस्

155
  •  
  •  
  •  

काठमाडौं, २ चैत (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले विकासका विषयमा दिनभर छलफल राख्न विकास समितिलाई आग्रह गरेका छन् । संसद्का विकास समितिले विकासमा सरकारको एकीकृत अवधारण निर्माणका लागि काठमाडौं–निजगढ द्रुतमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि एकीकृत रुपमा काम गर्न सरकारी निकायहरु डाकेर राखेको छलफलमा प्रधानमन्त्री कोइरालले यस्तो बताएका हुन् ।

‘सभापतिलाई मैले भने – यसरी भएन, ठुलो हलमा राख्नुपर्यो’, प्रधानमन्त्री कोइरालले भने, ‘मुलुकको विकासका लागि ठुलो हलमा दिनभर छलफल गर्नुपर्यो ।’ कोइरालाले विकास समितिलाई डेढ घण्टाको समयमात्र दिए पनि करिब तीन घण्टासम्म समितिमा बसेका थिए ।

कोइरालाले विकासको गति द्रुत बनाउन र विकास रकमलाई खेर जान नदिन आर्थिक वर्ष परिवर्तन गर्नुपर्ने बताए । ‘आर्थिक वर्ष परिवर्तन गर्नुपर्यो, असारमा बजेट ल्याउने अभ्यास बन्द गर्नुपर्यो’ कोइरालले भने, ‘अन्तिममा कामगर्ने र बाढीले बगाउने अवस्थाको अन्त्य गर्नुपर्यो ।’

कोइरालाले अहिलेको ठेक्का प्रणालीमा पनि परिवर्तन गर्नुपर्ने बताए । ‘हाम्रा इन्जिनियरहरुबाट अध्ययनपछि न्यूनतम खर्च आएपछि मात्र ठेक्का प्रक्रियाअघि बढाउनुपर्यो’, कोइरालाले भने, ‘न्यूनतम कति बजेटमा बन्छ भन्ने पूर्वअध्ययन गर्नुपर्यो र सबैभन्दा कम मूल्यमा आउनेलाई ठेक्का दिने प्रणाली पनि बन्द गर्नुपर्यो ।’

प्रधानमन्त्री कोइरालाले विकास व्यवस्थित नहुँदा अन्तर्राष्ट्रियस्तरमा देशको बेइजत भइरहेको बताए । ‘हाम्रो बेइजति भइरहेको छ, कहिले रनबे चर्किएर उडान नैं रोक्नुपर्ने अवस्था भएको छ, कहिले अन्तर्राष्ट्रिय विमान दर्घटना भएर समस्या आएको छ’ उनले भने, ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अत्यावश्यक नैं भइसकेको छ ।’

प्रधानन्त्रीको गैरजिम्मेवार प्रस्तुती
प्रधानमन्त्री कोइरालाले विकासमा आएका समस्या कसरी समाधान गर्ने र त्यसका लागि सरकारले कस्ता कदम अघि बढाउने भन्ने जानकारी दिनुपर्नेमा उल्टो प्रश्न गरे । उनले विकासका काम स्वभाविक गति लिन नसकेको विषयमा अरुका जवाफ दिनुपर्नेमा उल्टो आफैले प्रश्नै प्रश्न गरे । प्रश्न नगरेका विषयमा पनि एउटा सामान्य नागरिकले जस्तो जिज्ञासाले भरिएको अवधारणा मात्र प्रस्तुत गरे ।

उनले आफूलाई विकासका विषयमा हुने प्राविधिक ज्ञान नभए पनि राजनीतिक हिसाबले हुनुपर्ने काम नभएको असन्तुष्टि व्यक्तगरे । ‘म एउटा ले म्यान हुँ, मलाई टेक्नीकल विषयमा ज्ञान छैन’ उनले प्रश्न गरे, ‘एज अ पोलिटिकल पर्सन म भन्छु, यतिका समयसम्म विकासले किन गति लिन सकेन ?’

‘विधिको शासन हुन नपाउँदै १७ सालमा कु भयो, राजाले म गर्छु विकास भने तरपनि किन हुन सकेन ?’ उनले थपे, ‘विधिको शासन नहुँदा देश जहिले पनि संक्रमणकालमा रह्यो । सरकार अस्थिर भएको प्रभाव विकासमा पनि पर्यो ।’ ‘जवसम्म शान्ति, स्थायित्व र सिष्टम अफ गभर्नेन्स हुँदैन तबसम्म विकास अगाडी बढ्न सक्दो रहनेछ’ उनले भने ।

प्रधानमन्त्रीको भाषण अंश
शान्ति र स्थायित्व नहुँदासम्म लगानी आउदो रहेनछ, अहिलेको देशको अवस्था भनेको त्यसकै परिणती हो ।

मुलुकप्रति सबैलाई माया हुन्छ, मैले देखेको एउटा सिष्टम अफ गभरमेन्स् नितान्त आवश्यक छ, त्यस आवश्यकताको अनुभुति अहिले भइरहेको छ । हामी देशलाई संविधान दिनुपर्छ भनेर लागिरहेका छौं ।

सबै दल लागि राख्नुभएको छ, मलाई विश्वास छ, अब स्थायित्वका लागि अघि बढ्नुको विकल्प छैन । के अब फेरी जंगल जाने ? त्यस्तो हुँदैन । माओवादी नेताहरु पनि सिरियस नैं हुुनहुन्छ । सहमतिका कुरा बढी भइरहेका छन्, हामी पनि सहमतिकै कुरा गरिरहेका छौं, सहमति त सँगै बसेर वार्ता गरेपछि न हुने हो । आन्दोलनबाट त हुँदैन नि ।

हिजो कत्ति जटिल थियो शान्ति प्रक्रिया, कस्तो थ्रेट आएको थियो, सेटल भयो त, त्यसैले संघीयताका विषमा पनि हामी सहमतिमा पुग्छौं ।
संघीयताका विषयमा जसले जे–जे नैं भनेपनि यसबाट बाहिर जान कोही पनि सक्दैन, सबैका परिचय, भाषा, भेषको कुरा गरौं, अब पछि जाँदैन, कसैले चाहेर पनि पूर्वास्थामा जान सक्दैन ।

त्यसैले अब आन्दोलनको आवश्यकता छैन । आन्दोलनले केही पनि दिन सक्दैन, खाली परिस्थिति विगार्ने मात्र हो । त्यसैले यो टेबुलबाट समाधान हुन्छ, त्यसैले बसौं भनिरहेका छौं ।

विकासको कुरा गर्यो भने, जमिन अधिग्रहण समस्याको रुपमा देखा पर्ने गरेको छ । स्थानीयलाई सहुलियत दिने विषयमा निर्णय गर्न सकिन्छ, त्यसका लागि स्थानीयले पनि सहयोग गर्नुपर्छ ।

दोस्रो कुरा वातावरणीय अवस्थाको हो । वातावरणीय कारणले नैं अरुण तेस्रो बन्द भयो, त्यसका विषयमा पनि सचेत भएर काम गर्नुपर्छ । भूमीसुधार मन्त्री र बन मन्त्रीले जग्गाका विषयमा स्पष्ट कुरा गर्नुभएको छ ।

देशमा यत्रो पानी बगिरहेको छ, पैसा बगिरहेको छ, डलर बगिरहेको छ, हामी उपयोग गर्दैनौं । पानी बेच्दैनौं र राष्ट्रियता वेच्दैनौं, भनिन्छ, खोक्रो राष्ट्रियताले केही पनि हुँदैन, विकासका लागि सकारात्मक बन्नुपर्यो । एउटाले गरेका राम्रा कामको प्रशंसा र सहयोग गर्ने संस्कार विकास नहुँदासम्म देश बन्दैन ।

एउटाले, सडक बनाउने अर्कोले भत्काउने काम भइरहेको छ, यसले कत्ति पैसा गयो, कत्ति घाटा भयो ?


  •  
  •  
  •