२ वर्षभित्र सबै जनतालाई छानामुनी ल्याउँछौँ : प्रधानमन्त्री

165
  •  
  •  
  •  

काठमाडौँ, ३० बैशाख(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माणका लागि भइरहेको प्रगतिबारे संसदलाई जानकारी गराएका छन् ।

व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनःनिर्माणका लागि कुन काम कसरी भइरहेको छ भन्ने बारे जानकारी गराएका हुन् ।

उनले राष्ट्रिय पुनःनिर्माण प्राधीकरणले पञ्चवर्षीय कार्ययोजनाको खाका तयार पारेको बताउँदै उक्त खाकालाई मन्त्रिपरिषद्ले समेत पारित गरेको बताएका छन् ।

उनले प्राधिकरणले तयार पारेको खाकाले सरकार, गैरसरकारी संस्था, दातृ संस्था सबैलाई पुनःनिर्माणको स्पष्ट मार्गचित्र जानकारी दिने भन्दै प्राधिकरणको खाकाले नीतिगत, संस्थागत व्यवस्था, बित्तीय तथा आर्थिक खाकाका बारेमा स्पष्ट जानकारी दिएको बताएका छन् ।

पुनःनिर्माणका लागि आवश्यक पर्ने रकमबारे पनि प्राधिकरणले प्रस्तुत गरेको खाकाले जानकारी दिने बताउँदै यसले के कसरी पुनःनिर्माणको खाकालाई कार्यान्वयन गर्ने भन्ने तयारी समेत प्रस्तुत गरिएको उल्लेख गरेका छन् ।

प्राधिकरणले तयार पारेको खाकामा आगामी २ वर्षभित्र आकाशमुनी रहेका जनतालाई छानोमुनी ल्याउनका लागि नीजि आवास निर्माण गरिसक्ने योजना रहेको उल्लेख गर्दै आवास निर्माणका क्रममा सामूहिक आवासको निर्माण गरी महिला, बालबालिका, बृद्धबृद्धा, गरिबीको रेखामुनी रहेका जनतालाई पहिलो चरणमा छानामुनी ल्याउने योजना रहेको बताए ।

यसपछि ३ वर्षभित्र विद्यालय, अस्पताललगायतका सार्वजनिक भवनहरूको निर्माण गर्ने र ५ वर्षभित्र सांस्कृतिक सम्पदाहरूको पुनःनिर्माणको काम सकिसक्ने योजना प्राधिकरणको रहेको उनले बताए ।

यस्तै, प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनःनिर्माण योजनालाई आजै नेपालस्थित दातृ निकायमा प्रस्तुत गरिने जानकारी गराए ।


  •  
  •  
  •