काठमाडौं, ११ मंसिर (अाेएनएस) प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम सामाजिक सुरक्षा दिवस नयाँ युगको शुरुवाती दिन भएको बताएका छन्।
पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा मंगलबार एक सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
मंगलबारबाट सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ। प्रधानमन्त्री ओलीको सन्देशमा मंगलबारबाट सामाजिक सुरक्षाका योजनाहरु लागू भएको उल्लेख छ ।
अघिल्लो पटक प्रधानमन्त्रीहुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागु गर्ने प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्री ओलीले स्मरण गरे। ‘श्रमको सम्मान गर्ने,सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाज अनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी आजैबट प्रवेश गर्दैछौं,’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।
प्रधानमन्त्री ओलीले सबै देशवासीहरुलाई सामाजिक सुरक्षा योजना शुभारम्भको अवसरमा सबैलाई सुरक्षित भविष्यको शुभकामना पनि व्यक्त गरेका छन्।
सरकारले सबै क्षेत्रका श्रमिकलाई लागू हुने गरी मंगलबारबाट पेन्सनसहितको सामाजिक सुरक्षा योजना शुरु गर्दै छ। काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार प्रधानमन्त्री केपी ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गर्दै छन्।
सामाजिक सुरक्षा योजना सञ्चालनका लागि ऐन, नियमावली र कार्यविधिसमेत निर्माण भइसकेका छन् । पहिलो चरणमा औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी चार कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी छ ।