‘परिवारकाे जीवन रक्षाका लागि राहत उपलब्ध गराइदिनुस्‘

179
  •  
  •  
  •  

काठमाडौं, माघ (ओएनएस) : विगत ७ वर्षदेखि साउदीको जेलमा परेर डेढ महिनाअघि नेपाल फर्किएका ११ नेपालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् ।

७ वर्षअघि भारतीय नागरिकको हत्या अभियोगमा साउदी जेलमा परेका ११ नेपालीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरी नेपाल ल्याउने प्रक्रियामा गरेको सहयोगका लागि धन्यवाद दिए । साथै, ७ वर्ष लामो जेल जीवनले पारिवारिक जीवन अस्तव्यस्त भएको भन्दै उनीहरुले सरकारसँग सहयोगका लागि अनुरोध गरेका छन् ।

कामका लागि साउदी गएका उनीहरुमाथि भारतीय नागरिकको हत्या अभियोग लगाइएको थियो । करिब साढे ५ वर्षपछि अदालतले निर्दोष सावित गरेपछि प्रधानमन्त्री कार्यालय र नेपाली दूताबासको सहयोगमा डेढ महिनाअघि उनीहरु नेपाल फर्किएका हुन् ।

पीडित भीमप्रसाद चिमरियाले परिवारको जीवन रक्षाका लागि भए पनि केही राहत उपलब्ध गराउन प्रमसँग माग गरे ।

प्रम प्रचण्डले राहत उपलब्ध गराउन सरकार सकारात्मक रहेको र आवश्यक पहल थाल्ने बताए । ‘तपाईहरु निर्दोष भएका कारण साउदी सरकारसँग पनि कुटनीतिक पहल गरेर राहत उपलब्ध गराउने कोशिस हुनेछ । कर्मचारीको लापरवाहीका कारण तपाईहरुले दुःख पाएको भए त्यसबारे पनि समीक्षा गरिन्छ,’ उनले भने, ‘साउदीमा भएको मृत शरीर नेपाल ल्याउन र परिवारलाई राहतका लागि म सम्वेदनशील छु ।’

सन् २०१० फेब्रुअरीमा साउदीको जेद्दा बराइमान जेलमा परेका नवलपरासीका कृष्णबहादुर दमाई, रुपन्देहीका भक्तबहादुर दर्जी, रसुवाका सोम तामाङ, धादिङका रामबहादुर तामाङ, तनहूँका केशबहादुर नेपाली, भोजपुरका श्रीकुमार राई, ओखलढुङ्गाका बीरबहादुर बुढाथोकी, झापाका दिपेन शेर्मा, मोरङका चक्रबहादुर गुरुङ र मोरङका भीमप्रसाद चिमरियाले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।


  •  
  •  
  •