प्लाष्टिक बन्द गरिए आन्दोलनमा उत्रने संघको चेतावनी

106
  •  
  •  
  •  

काठमाडौं, २६ भदौ (ओएनएस) : नेपाल प्लाष्टिक उत्पादक संघले सरकारले विकल्प नदिई प्लाष्टिकको झोला बन्द गरेमा आफूहरू आन्दोलनमा उत्रने चेतावनी दिएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले प्लाष्टिकको झोला बन्द गरेमा झनै ठूलो समस्या उत्पन्न हुने भन्दै प्लाष्टिकका झोलाहरू बन्द गर्न नहुने बरु व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ ।

संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले सरकारले विगत कालमा झोलाको नियन्त्रण तथा नियमनका लागि निर्देशिका तयार पारेका प्रष्ट पार्दै सोही निर्देशिकाअनुसार व्यवस्थापन तथा अनुगमनका कार्यहरूलाई तदारुकताका साथ कार्यन्वयन गर्नुपर्ने धारणा राखेका छन् । प्रधानले भने– यो प्लाष्टिकको झोला उपयोग गर्दा कुनै समस्या छैन् , यसको उचित प्रयोग र व्यवस्थापन गर्न नसक्दा समस्या आएको हो । त्यसैले सरकारले यसमा ठोस पहल कदमी चाल्नुपर्छ । प्लाष्टिकको झोला बन्द गर्दैमा समस्या समाधान हुँदैन् । प्रधानले प्लाष्टिकको झोलाको विकल्प कगजको झोला नभएको जिकिर गर्दै यदि विकल्पका रुपमा कागजको झोला प्रयोग हुने भए धेरै पहिल्यै नै प्लाष्टिकका झोला बन्द भैसक्ने स्पष्ट पारेका छन् ।

त्यस्तै प्लाष्टिक ईन्जिनियर डा. रमेशमान सिंहले प्लाष्टिकको उपयोगिता एवम यसको उत्पादनको बारेमा प्रष्ट धारणा राख्दै प्लाष्टिकको झोलाले कुनै हानी नगर्ने भन्दै उपयोगका लागि आग्रह गरेका छन् । सिंहले प्लाष्टिकको झोला प्रयोग गर्दा स्वास्थ्यलाई हानी पुग्छ भनि गरिएको प्रचार विल्कुलै गलत भएको समेत प्रष्ट पारेका छन् ।


  •  
  •  
  •