उपत्यकामा प्लाष्टिक झोला प्रतिबन्धको अनुगमन आजदेखि

494
  •  
  •  
  •  

plastic-bagsकाठमाडौ, २ बैशाख(ओएनएस) : बैशाख १ गतेदेखी काठमाडौं उपत्यकालाई प्लाष्टिक झोला प्रतिबन्ध गरेको सरकारले आजदेखी उक्त प्रतिबन्धको कार्यान्वयनका लागि अनुगमन गर्ने भएको छ ।

प्लाष्टिकको झोला प्रयोग र खरिद बिक्रीमा लगाएको प्रतिबन्ध कार्यान्वयनका लागी अनुगमन गर्नका लागि ६ वटा टोली बनाएको वातावरण मन्त्रालयअन्गर्तको वातावरण विभागले जनाएको छ । सरकारले मंगलबारदेखि लागु हुने गरी उपत्यकामा ४० माइक्रोनभन्दा पातलो र २० देखि ३० इन्च आकारको साइजभन्दा कम भएका प्लाष्टिकमा प्रतिबन्ध लगाएको हो । तर, हिजो पहिलो दिन प्रतिबन्धको कार्यान्वयन भएको पाइएन ।

उपभोक्ता तथा व्यवसायीहरुले हिजो प्लाष्टिकको झोला प्रयोग गरेको देखिन्थ्यो । त्यसैले अनुगमनका क्रममा तोकिएभन्दा फरक खालको प्लाष्टिकको झोला प्रयोग गरेको पाइए कारबाही गरिने वातावरण विभागका महानिर्देशक सरोज पोखरेलले बताएका छन् ।

प्लाष्टिकले वातावरणलाई प्रदुषित बनाएको भन्दै सरकारले प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएको हो । प्लाष्टिकको झोलाको विकल्पमा कागजको झोला या कपडाको झोला प्रयोग गर्न सकिने विभागले जनाएको छ । प्लाष्टिकको झोला नगल्ने र पुनःप्रयोग नगरिने हुँदा दैनिकरूपमा प्रयोग हुने प्लाष्टिकलाई नियन्त्रण गर्नका लागि यस्तो नियम बनाईएको महानिर्देशक पोखरेलले बताएका छन् ।


  •  
  •  
  •