‘प्रचण्डको हत्या गर्न गिरोह नै काठमाण्डौं आएको सूचना थियो ’

768
  •  
  •  
  •  

पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालको आत्मकथाले एकीकृत नेकपा माओवादी र त्यसको नेतृत्व सेनाको निगरानीमा थिए भनेर प्रष्ट पार्छ । वालुवाटारमा माओवादी सेनालाई छिर्न नदिएको होस् वा माओवादीको हेडक्वाटर हान्ने तयारीको प्रसंग होस् अथवा आफू वालुवाटार जाँदा प्रधानमन्त्री कार्यालय नै आक्रमण गर्ने योजनासम्मको विषय । तत्कालीन प्रधानसेनापति कटवालको प्रसंगले त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा व्यवस्था कस्तो थियो भन्ने जिज्ञासा स्वाभाविक रुपमा उठ्न सक्छ ।

के दाहाल प्रधानमन्त्री हुँदा बाहिरबाट देखिएजस्तो सरकारी सुरक्षाकर्मीको भरमा मात्रै थिए ? समग्र सुरक्षा ब्यवस्था माओवादीको तर्फबाट चाही कस्तो थियो ? यसै विषयमा प्रचण्डको सुरक्षामा खटिएका तत्कालीन माओवादी सेनाका विग्रेड कमाण्डर युवराज दुलाल ‘शरद’ले आफ्नो कुरा ओएनएस न्यूज डट.कमका हिम विष्टसँग यसरी राखेका छन् ।

चाहिने मात्रामा हतियार थियो

photo 2पहिले मात्रै होइन अध्यक्ष प्रचण्ड खुल्ला भइसकेपछि पनि सुरु देखि नै सुरक्षामा खटिएको हुँ । सुरुमा अध्यक्ष प्रचण्डको सुरक्षाको विषयमा जनमुक्ति सेनाको एक सय जनाको टोली क्यानटोनमेन्ट बाहिरै बस्ने र १४ थान हतियार राख्ने सहमति सरकारसँग भएको थियो । ३५ जना केन्द्रीय सदस्य थिए र उनीहरुका लागि पनि हतियारको व्यवस्था गरिएको थियो । पछि अध्यक्षको सुरक्षा यत्तिले मात्रै पुग्दैन आवश्यकता अनुसार हतियार राख्न पाउनुपर्छ भन्ने भयो र दलहरुको सहमतिमा चाहिने मात्रामा हतियार राख्ने पाउने भयौं । प्रचण्ड र बाबुरामलाई एउटै सुरक्षा टिमबाट ब्यवस्था गरेर आवश्यकता अनुसार सेक्युरिटी निर्धारण गर्ने गरेका थियौं ।

तीनवटा सुरक्षा घेरा

सुरुमा सरकारले सुरक्षा व्यवस्था नगर्दासम्म जनमुक्ति सेना र वाइसिएलले हेरेका थियौं । पछि सरकारले सशस्त्रको डिएसपीको नेतृत्वमा ४५ जनाको सुरक्षा टोली खटायो । जता जाँदा पनि हामीले तीनवटा सुरक्षा घेरा बनाएका थियौं । भित्री घेरा जनमुक्ति सेनाको कमाण्डो फोर्स त्यसपछि सशस्त्र प्रहरीको घेरा र बाहिर वाइसिएलको घेरा थियो । जता जाँदा पनि बाहिर वाइसिएल तयार हुन्थ्यो ।

सेनाले सशस्त्र प्रहरीलाई रोक्न खोजेको थियो

प्रधानमन्त्री बनेपछि अध्यक्ष प्रचण्ड तत्काल वालुवाटार जानुभएन । उहाँले चीन भ्रमणमा गएपछि मात्रै वालुवाटार जान्छु भन्नुु भएको थियो । खासमा त्यस्तो केही थिएन । सुरक्षा सवाललाई लिएर नै उहाँले चीन भ्रमणको वहाना बनाउनु भएको थियो । अध्यक्ष प्रचण्डले भूमिगतकालदेखि नै आफ्नो सुरक्षा गर्दै आएको जनमुक्ति सेना र खुल्ला भएदेखि सुरक्षा गर्न थालेको सशस्त्र प्रहरी लिएर मात्रै वालुवाटार जान चाहनुहुन्थ्यो । सेनाले जनमुक्ति सेना मात्रै होइन सशस्त्र प्रहरीलाई पनि वालुवाटारको सुरक्षामा खटाउन मानिरहेको थिएन । पछि हामीले नै तपाई देशको प्रधानमन्त्री हो हामी जाँदैनौ तपाई जानुस बरु हामीलाई सानो टिममा हतियार सहित जान्छौं भनेर उहाँलाई सम्झायौं । दलहरुबीचपनि प्रधानमन्त्री प्रचण्डको सुरक्षामा भित्र सानो सुरक्षा टिम राख्ने सहमति भएको थियो । अन्तिममा कमाण्डरहरुको ११ जनाको टिम हतियारसहित वालुवाटार गयो ।

प्रचण्ड जनमुक्ति सेनासहित चीन

उहाँ चीन भ्रमणमा जानुभयो । भ्रमणमा जाँदा हतियारसहित मेरो मातहत रहनुभएका तुलसी डाँगी प्रचण्डसँगै चीन जानुभएको थियो । सेनाले आफ्नो प्रभाव जमाउन प्रयास गरेको हामीलाई अनुभूति भइरहेको थियो । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भइसकेपछि सेनाले लेफ्टिनेन्ट कर्णेल अरुणकुमार पाललाई खटाएको थियो । उनी प्रधानसेनापति रुकमाङ्गद कटवालको विश्वास पात्र थिए भन्ने हामीलाई जानकारी थियो । उनी सुरक्षा गर्न भन्दा पनि प्रचण्डको सबै सूचना संकलन गर्न पठाएकोमा हामी विश्वस्त थियौं । कटवालले आफ्नो आत्मकथामा वालुवाटारबाट खबर आउने गरेको भन्नुले पनि त्यसको संकेत गर्छ । उहाँले अध्यक्ष प्रचण्डलाई अब हजुरको सुरक्षा व्यवस्था हेर्ने जिम्मा मेरो हो भन्नुभयो तर हामीले त्यतिकै छोड्ने पक्षमा थिएनौं ।

photo 1हामीलाई वालुवाटार छिर्न कसैले रोकेन

कटवालले आफ्नो आत्मकथामा आएजस्तो जनमुक्ति सेनालाई वालुवाटार छिर्नै नदिएको होइन । मैले अगाडी भने कमाण्डरको ११ जनाको टिम हतियार गएका थियौं तर यो सेनाको माथिल्लो तहको समन्वयमा थिएन । राजनीतिक तहमा भने एक किसिमको सहमति थियो । हामीले वालुवाटार गयौं सायद कर्णेल पालले समन्वय गरेका थिए होलान हामीलाई वालुवाटार छिर्न कसैले रोकेन । प्रधानमन्त्री कार्यालय भित्र पनि सेनाले आफ्नो सुरक्षा घेरा कडा बनाउने प्रयास गरेको थियो । सेनाले सशस्त्र प्रहरीलाई त रोक्न खोजेको थियो नै प्रधानमन्त्री कार्यालयको २ नम्बर गेटभित्र नेपाल प्रहरीले सुरक्षा हेरिरहेको हुन्थ्यो त्यसलाई पनि सेनाले हटाउन खोज्यो । हामीले मानेनौं ।

हामीले प्रचण्डलाई वालुवाटार र सिंहदरबार कहिल्यै छोडेनौं

प्रधानमन्त्री निवासभित्र हामीले सेनाको चहलपहललाई रोक्यौं । पहिले प्रधानमन्त्रीका एडीसी वस्ने कोठामा पिएलएका कमाण्डर वस्यौं । हामीले औपचारिक कार्यक्रम हुदाँ बैठक कोठाबाहेक अन्त जान दिएनौं । सूचना संकलनका लागि हाम्रा आफ्नै इन्टेलिजेन्स पनि थिए । बेलाबेलामा प्रधानमन्त्री तथा मन्त्रीहरुले पनि सुरक्षा खतरा यस्तो छ भनेर जानकारी गराउँनु हुन्थ्यो । तर, जनमुक्ति सेनाले सशस्त्र प्रहरी, नेपाल प्रहरी,राष्ट्रिय अनुसन्धान विभाग, र नेपाली सेनाबाट सूचना लिन आफ्नै संयन्त्र बनाएको थियो । सुवेच्छुकहरुले सूचना दिने गथ्र्थे । त्यो औपचारिक होइन आफ्नै संयन्त्रबाट लिन्थ्यौं । त्यसकै आधारमा सुरक्षा खतरा विश्लेषण गरेर कहाँ जाने कहाँ नजाने निर्णय गथ्र्यौ । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला हामीले उहाँलाई वालुवाटार र सिंहदरबार कहिल्यै छोडनौं । अत्याधुनिक हतियार सहित सिभिल ड्रेसमा हामी प्रचण्डसँग रहन्थ्यौं । एकातिर शान्ति प्रकृया टुंगिएको थिएन भने अर्कोतिर हामीले पनि राज्यको तलब भत्ता खाएका थियौं र नेतृत्वको सुरक्षा गर्नु हाम्रो जिम्मेवारी थियो ।

कटवाल प्रकरणका बेला
२४ सै घण्टा सतर्क र सेनामाथी निगरानी

हामीले सबै विषयको आँकलन गरेका थियौं र त्यसै अनुसार तयारी पनि गरेका थियौं । कटवालले अन्य दलका नेता र हाम्रै नेतालाई पनि माओवादीको हेडक्वाटर र प्रधानमन्त्री कार्यालय समेत आक्रमण गर्न सक्ने धम्की दिएको हामीलाई सूचना थियो । कटवाल प्रकरणका बेला २४ सैं घण्टा सतर्क थियौं । प्रधानमन्त्री निवासका सबै झ्यालमा अत्याधुनिक हतियारसहित जनमुक्ति सेना ड्यिुटीमा खटिएका थिए । हामीले ढोका झ्यालबाट सेनाको सेन्ट्री र पेट्रोलिङ गर्ने ठाँउलाईसमेत ‘रेञ्ज’ भित्र राखेर तयारीमा थियौं । बाहिरबाट नेता तथा सुरक्षा अधिकारीहरुलाई केही हर्कतको संकेत मिले खबर गर्न भनेका थियौं । प्रधानमन्त्री बाहेक ड्राइभर, कम्युटर अपरेटर, भान्सेसम्म ड्युटिमा बसेका थिए । संकेत मिलेको ५ मिनेट सेनाले कुनै हर्कत गर्न खोजे अध्यक्ष प्रचण्डलाई पक्राउ गर्न नदिने गरी प्रतिकार गर्ने योजना बनाएका थियौं । त्यसै अनुसार आवश्यक संख्यामा जनमुक्ति सेना भित्राइसकेका थियौं ।

photo 3१५ मिनेटसम्म लडेर प्रचण्डलाई बचाउने योजना

४ बर्ष सेनासँग लडेको अनुभव हामीसँग थियो । लडाईका आफ्नै नियम हुन्छन् । हतियार, जनशक्ति र वातावरण हेर्दा १० देखि १५ मिनेट सेनालाई रोक्न सजिलै सकिन्छ भन्ने हाम्रो योजना थियो । १५ मिनेट रोक्दा समाचार आमनागरिकको बीचमा जान्थ्यो भने बाहिरपनि वाइसिएल र नयाँ बजारमा १ सय जनमुक्ति सेना तयारी हालतमा थिए । लडाईमा १५ मिनेट धेरै समय हो । नयाँ बजारबाट बलुवाटारको रातीको दुरी कम्तिमा १० मिनेटको मात्रै हो तुरुन्त सहयोगमा आउन सक्ने अवस्था थियो । उनीहरु तयारी हालतमा थिए । कतिपय जनमुक्ति सेना हामीले वालुवाटार छिराइसकेका थियौं । बाहिर वाइसिएल पनि तयारी अवस्थामा थिए । १५ मिनेट सेनालाई रोक्न सक्दा नयाँ बजारका जनमुक्ति सेना पनि आइसक्थे भने वाईसिएलले पनि ठूलो समूहमा जनतालाई उतार्ने गरि तयारी अवस्थामा थियो । त्यो एक किसिमले उल्टो हाम्रो तर्फबाट विद्रोह हुन्थ्यो भन्ने मुल्याङकन थियो । भित्रै पनि केही सैनिक र प्रहरीले सहयोग गर्ने वातावरण बनेको थियो त्यसमा पनि सशस्त्र प्रहरी र नेपाल प्रहरीले हामीलाई साथ दिन्छन् भन्ने विश्वास थियो र केही सैनिकको पनि साथ थियो । त्यो अवधिभर अध्यक्ष प्रचण्डबाहेक सबैको ड्युटि थियो । १५ मिनेट रोक्दा घटना सार्वजनिक हुन्थ्यो र ‘जनप्रतिरोध’ मा बदलिन्थ्यो भन्नेमा विश्वास थियो । कटवाल प्रकरणको समयमा सबै रात मैले वालुवाटारमै विताए । तर, राष्ट्रपतिले सेनापतिलाई थमौती गरेपछि ‘कोर्स’ फौजीबाट राजनीतिक बन्यो ।

सेनाको हर्कतबारे सधै चनाखो थियौं

हामीले पनि आफ्नो सूचना स्रोत तयार गरेका थियौं । सेनाले जतिबेला जे पनि गर्नसक्छ भन्ने आधारमा हाम्रो तयारी हुन्थ्यो । सेनाले हेडक्वाटर हान्ने तयारी गरेको भन्दा होस वा कटवाल प्रकरणका बेला सधै सजग थियौं । कटवाल प्रकरणका बेला सेनाले क्यान्टोनमेन्ट घेर्न सक्छ भन्ने सूचनाका आधारमा पहिले नै हामी तयारीमा थियौं । जे होस बहिर जे भने पनि सुरक्षा मामिलामा हामी कहिल्यै कमजोर अवस्थामा थियौं भन्ने लाग्दैन ।

प्रचण्डको हत्या गर्न गिरोह आएको थियो

विद्रोहबाट आएको नेता राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको ‘टार्गेट’ मा हुन स्वभाविक थियो । प्रचण्डको हत्या गर्ने तयारी भएको सूचना हामीलाई थियो । पहिलो संविधानसभाको अघि खासगरी अन्तिम हप्ता र त्यसपछि पनि प्रचण्डको हत्याका लागि काठमाण्डौंमा एउटा टोली खटिएको छ भन्ने हामीलाई जानकारी थियो । प्रचण्डको हत्या नेपालको सुरक्षा निकाय वा अन्य कोहीबाट सम्भव छैन बाहिर शक्तिबाटै थियो । सबै कुरा खोल्न पर्दैन सबैले बुझिहाल्छन् । संगठनिक रुपमा खतरा नभएपनि सुरक्षा निकायभित्र विभिन्न प्रवृतिका व्यक्ति हुन्छन् भन्ने विषयमा भने हामी सचेत थियौं । तर बाह्यि शक्तिबाटै बढी खतरा थियो । प्रचण्डको हत्या गर्न गिरोह नै काठमाण्डौं आएको कुरा तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले नै जानकारी गराउनुभएको थियो भने विभिन्न सुरक्षा निकायबाटै खबर आएको थियो तर त्यसलाई रोक्न सफल भयौं जस्तो लाग्छ ।


  •  
  •  
  •