सार्कको बेला सभागृहमा पहुँच नदिने निर्णयप्रति पीजे क्लबको ध्यानाकर्षण

254
  •  
  •  
  •  

PJकाठमाडौं, ३ मंसिर (ओएनएस) : आगामी मंसिर १० र ११ गते हुने १८ औं सार्क शिखर सम्मेलनको लागि नीजि सञ्चार माध्यमका फोटोपत्रकार, टेलिभिजनका क्यामरापर्सलाई मुख्य आयोजनास्थल राष्ट्रिय सभागृहमा पहुँच नदिने निर्णयलाई सच्चाउन माग गर्दै पीजे क्लबले सरकारका दुई मन्त्रीको ध्यानाकर्षण गराएको छ ।

फोटो पत्रकारहरुको छाता संगठन पीजे क्लबले सञ्चारमन्त्री मिनेन्द्र रिजाल र परराष्ट्रमन्त्री महेन्द्र पाण्डेको ध्यानकर्षण गराएको हो । सभागृहमा नीजि संचार माध्यमलाई पहुँच नदिने बिषयमा नेपाल पत्रकार महासंघले यसअघि नै आपत्ती जनाइसकेको छ ।

लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता भएको मुलुकमा हुन गइरहेको शिखर सम्मेलनमा फोटो पत्रकार र नीजि सञ्चार माध्यमलाई उद्घाटन र समापनमा प्रवेश निषेध गर्नु युक्ति संगत नभएको क्लबले जनाएको छ ।

क्लबले सुरक्षा र आन्तरिक व्यवस्थापनको नाममा पत्रकारलाई समाचार र फोटो संकलनमा बाधा पुग्नेगरी लादिएको व्यवस्था पुनर्विचार गर्न मन्त्रीहरुलाई अनुरोध गरेको छ ।

साथै क्लबले ध्यानाकषर्णमा बेवस्ता गरिए सार्कका अन्य गतिविधिहरु समेत कभरेज नगर्ने र सम्मेलनका बेला ‘क्यामरा डाउन’ गर्ने समेत चेतावनी दिएको छ ।


  •  
  •  
  •