हातहतियारको ओसारपसार गर्ने ५ जना पेस्तोलसहित पक्राउ

194
  •  
  •  
  •  

रौतहट,  १६ मंसिर (ओएनएस) : विभिन्न किसिमका तीन वटा पेस्तोल तथा २१ राउण्ड गोलीसहित रौतहटको करुनिया गाविस ५ स्थित लक्ष्मिनीया टोलबाट सोमबार शसस्त्र प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतको सीतामढी घर बताउने कनैयाकुमार सिंह, विकासकुमार सिंह, बिक्की सिंह तथा भारतकै मोतिहारी बस्ने आनन्द सिंह र भारतको शिवहर घर बताउने सुनिलकुमार सिंह छन् ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रौतहटबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई कटुवा पेस्तोल एकथान, सोको गोली दुुई राउण्ड, ‘सुम्नीका इन्ड्रस्ट्रिज’ लेखिएको पेस्तोल दुईथान, सोको गोली १९ वटा र चारवटा म्याग्जिनसहित पक्राउ गरेको हो ।
उक्त समूह त्यसठाउँमा हातहतियारसहित प्रवेश गरी चलखेल गरिरहेको भन्ने जानकारी पाउनासाथै सो कार्यालयबाट सशस्त्र प्रहरी उपरीक्षक बिदुर खड्काको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त हतियारसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले प्रयोग गरेको एउटा मोटरसाइकल समेत एपीएफ टोलीले बरामद गरेको छ ।


  •  
  •  
  •