पाइपलाइन ओछ्याउने काम धमाधम, अब ५ किमि मात्र बाँकी

337
  •  
  •  
  •  

वीरगञ्ज, १६ वैशाख (ओएनएस) : भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन विछ्याउने काम धमाधम भइरहेको छ। हाल पर्सा राष्ट्रिय निकुञ्जभित्र पाइप विछ्याने काम भइरहेकोमा अब पाँच किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमीनमुनि पेट्रोलियम पाइपलाइन बिछ्याउने काम बाँकी रहेको छ ।

त्यस्तै, भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ओछ्याउने पेट्रोलियम पाइप लाइन बिछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जनाएको छ ।

भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइप लाइन बिछ्याउने काम ६५ किलोमिटरसम्म सम्पन्न भइसकेको र अब करीब पाँच किलोमिटर क्षेत्रमा मात्र काम बाँकी रहेको बताइएको छ ।

पाइप लाइन बिछ्याउने क्षेत्रमा करीब नौ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्ज पर्छ। जहाँ ५ हजार ५०० ठूलासाना रुख काटिने काम धमाधम भइरहेको पेट्रोलियम पाइपलाइन विस्तार आयोजना सिमराका इञ्जिनीयर शरद पौडेलले जानकारी दिए।

गत चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरुपमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको शिलान्यास गरेपछि यसले गति लिँदै जमीनमुनि पाइप ओछ्याउने काम अन्तिम चरणमा पुगेको हो ।

सो पाइप लाइन भारतीय आयल निगमको २७५ करोडको लागतमा निर्माण भइरहेको छ । जसमध्ये भारत सरकारको २०० करोड तथा सङ्घीय सरकारको ७५ करोड लगानी रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन कार्यालय सिमराले जनाएको छ ।


  •  
  •  
  •