प्रधानमन्त्री ओली र मोदीद्वारा पाइपलाइनको उद्घाटन

पेट्रोलियम पदार्थ आउन शुरु
68
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत पेट्रोलियम पाइपलाइनको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

दक्षिण एसियाकै पहिलो क्रस बोर्डरका रुपमा रहेको पाइपलाइनको प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र मोदीले नयाँ दिल्लीबाट स्विच थिचेर पाइपलाइनको उद्घाटन गरेका हुन् ।

कार्यक्रमका लागि दुवै देशका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिएका थिए । कार्यक्रममा प्रधानमन्त्री ओलीले पाइप लाइन सञ्चालनमा आउनु नेपालका लागि उपलब्धिमूलक भएको बताए ।

उद्घाटनपछि अमलेखगन्जमा झरेको तेल इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्रमुखले बोतलमा तेल थापी नेपाल आयल निगम प्रमुखलाई हस्तान्तरण गरेका थिए ।

पहिलो चरणमा पाइपलाइनबाट डिजेल ल्याइनेछ । यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइने बताइएको छ ।
मोतिहारी–अमलेखगन्ज पाइपलाइनको दूरी ६९ दशमलव २ किलोमिटर रहेको छ ।  जसमा नेपालतर्फ २६ दशमलव २ र भारततर्फ ३३ दशमलव ६९ किलोमिटर रहेको छ ।

२०७२ सालमा भएको सम्झौताअनुसार भारतले ७० किलोमिटर लामो पाइपलाइन बिच्छाइदिएको हो । ७० किलोमिटर लामो पाइपलाइनमध्ये नेपालतर्फ ३६ किलोमिटर र भारततर्फ ३४ किलोमिटर रहेको छ ।

सुरुमा भारतले २ अर्ब भारु र नेपालले ७५ करोड रुपैयाँ खर्च गर्ने सम्झौता भए पनि अहिलेसम्म भारतले मात्रै खर्च गरेको छ ।

अहिलेसम्म भारतले २ अर्ब २५ करोड भारु खर्च गरेको छ । पाइपलाइनबाट प्रतिघन्टा २ सय किलोलिटर अर्थात २ लाख लिटर र २४ घन्टामा ४८ लाख लिटल डिजल आउनेछ ।

पाइपमार्फत आएको तेल भण्डारण गर्न ४१ लाख लिटर क्षमताका २ वटा ३९ लाख लिटर क्षमताका २ वटा गरी १ करोड ६० लाख लिटर अट्ने ट्यांकी निर्माण भैसकेका छन् ।


  •  
  •  
  •