लाखौँको पाइप स्यौरीथली जंगलमा अलपत्र

466
  •  
  •  
  •  

pipe in forestकाभ्रे, १० मंसिर(ओएनएस) : काभ्रेको डाँडापारीस्थित एक खानेपानी आयोजनाका लागि खरिद गरिएको लाखौँ मूल्य बराबरको पाइप बीच जंगलमा अलपत्र रहेको छ । क्षेत्रटोल खानेपानी आयोजनाका लागि खरिद गरिएको लाखौँ मूल्य बराबरको पाइप महाभार लेकको बीच जंगल स्यौरीथलीमा अलपत्र अवस्थामा भेटिएको हो । जिल्लाको डाँडापारीस्थित डाँडागाउँ गाविसका सर्वसाधारणलाई खानेपानीको सहज उपलब्धता गराउनका लागि जिल्ला विकास समिति काभ्रेबाट विनियोजित रकमबाट उक्त पाइप खरिद गरिएको हो ।

आर्थिक वर्ष २०७१/७२ को जिल्ला विकास समिति परिषद्बाट विनियोजन गरिएको सो खानेपानी आयोजना कागजमा भने सम्पन्न भइसकेको छ । कागजी प्रक्रियामा काम सम्पन्न भएको भए पनि यथार्थमा भने खानेपानी आयोजनाको पाइप बीच जंगलमा अलपत्र अवस्थामा रहेको छ ।

क्षेत्रटोल खानेपानी आयोजनाका लागि जिविसबाट २ लाख बजेट विनियोजन भएको थियो । गाविस कार्यालयबाट आयोजनाका लागि प्रशासनिक खर्च काटेर १ लाख ९२ हजार बजेट निकासा भएको छ । जसमा उपभोक्ताहरुबाट ३४ हजार २ सय ३२ रुपैयाँ जनश्रमदान वा अन्य केही कार्यबाट उठाउनुपर्ने उल्लेख छ । आयोजनाका लागि उपभोक्ता समितिले ५० एमएम साइजको ९ रोल पाइप खरिद गरेका छन् । गाविस कार्यालयमा उपभोक्ता समितिले बुझाएको विवरण अनुसार एउटा बिल भ्याट सहित ९ सय मिटर प्रति मिटरको रु.९४.५० का दरले रु. ९६ हजार १ सय ६ रुपैया ५० पैसा बराबरको पाइप खरिद भएको छ । त्यसैगरी, अर्को बिल भ्याट सहित ६ सय मिटर पाइपको प्रति मिटर रु. ९४ का दरले ६३ हजार ७ सय ३२ रुपियाँ खर्च भएको उल्लेख छ ।

गाविस कार्यालयमा ९ हजार १ सय ७६ रुपियाँ बराबरको सिमेन्ट खरिद गरिएको भनी विवरण बुझाइएको भए पनि उपभोक्ता समितिले सिमेन्ट भने खरिद नगरेको पाइएको छ ।

गाविस सचिव उत्तमप्रसाद तिमेल्सिनाले खानेपानी आयोजनाको कार्य सम्पन्न नभएको स्वीकार गरेका छन् । प्राविधिक स्टिमेट सहितको कागजी प्रक्रिया पूरा भएपछि मात्रै आफूले रकम फर्च्यौट गरेको उनको भनाई छ । प्राविधिकले काम सम्पन्न भएको प्रतिवेदन पेश गरेपछि मैले बाध्य भएर फर्च्यौट गरेँ । उनले भने, ‘मैले पनि बारम्बार योजना कार्यान्वयनका लागि दबाब दिइरहेको छु । मैले किन योजना सम्पन्न नगरेको भनि सोध्दा पाईपको साइज नमिलेर काम नगरेको भन्ने जवाफ अध्यक्षले दिएका छन् ।’

यता प्राविधिक सलिश उप्रेतीले भने भूकम्पका कारण समयमै कार्य सम्पन्न गर्न नसकेको र केही दिनमै कार्य सम्पन्न गर्ने सहमतिमा आफूले योजनाको स्टमेट बनाइदिएको बताए । ‘एक हप्ताभित्र काम सम्पन्न गर्छु भनेर भनेको छ’, उनले भने, ‘यदि तोकिएको समयमा कार्य सम्पन्न नगरे म आफैँ अघि बढ्छु ।’

उपभोक्ता समितिका अध्यक्ष पेमा बललाई टेलिफोन गरी आयोजनाका कार्यबारे बुझ्न खोज्दा टेलिफोन सम्पर्क हुन सकेन । तर, आयोजनाका सबै सामान खरिद देखि लिएर उपभोक्ता समिति समेत आफ्नै अनुकुलमा गठन गरेका क्षेत्रबहादुर वाईबाले भने आयोजना सम्पन्न गर्न आफूहरू असफल भएको बताए । उनले मुहान नपाएकाले काम अघि बढाउन नसकेको बताए ।

छिमेकी गाविस फलामेटारका बासिन्दाहरुले मुहान नदिएपछि आयोजना ठप्प रहेको र सर्वदलीय प्रतिनिधिहरुलाई बोलाएर बैठक राखी छिट्टै आयोजना सम्पन्न गर्ने उनले बताए । पोलिथिन पाइपलाई बिना प्रयोग २ वर्ष राखिएको खण्डमा पाइप बिग्रिने प्राविधिकको भनाई छ । हाल अलपत्र अवस्थामा रहेका पाइप खरिद गरी बिजोग अवस्थामा राखेको ७ महिना भइसकेको छ । पाइपमा बटुवाहरुले पिसाब फेर्ने, थुक्ने जस्ता कार्यहरू गरिरहेको बुझिएको छ ।


  •  
  •  
  •