चितवनमा हात्तीको वनभोज, पर्यटक दंग

316
  •  
  •  
  •  

picnic of elephantचितवन, १४ पुस(ओएनएस) : हामी जाडो लागेपछि वनभोजमा जाने गर्छौ । साथीभाई होस् या इष्टमित्रसँग मिलेर वनभोजमा रमाउने बेला पनि हो यो । मानिसको वनभोजको बारेमा त हामीलाई राम्रैसँग थाहा छ तर, हामीमध्ये धेरैलाई थाहा छैन् की हात्तीले पनि वनभोज गर्न थालेका छन् । जाडो महिना र हात्ती महोत्सवको अवसर पारेर क्षेत्रीय होटेल संघ सौरहाले अघिल्लो वर्ष झै यसवर्ष पनि हात्तीको वनभोज कार्यक्रमको आयोजना गरेको छ ।

चितवनमा जारी हात्ती महोत्सवका क्रममा उक्त कार्यक्रम गरिएको हो । हात्ती महोत्सवको मज्जा लिन सौरहा पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरूले हात्तीको वनभोज समेत निकै रमाइलो मानेर अवलोकन गरेका छन् । वनभोजमा ८० वटा हात्ती सहभागी थिए। केहीदिन यता यहाँका हात्ती नियमित काममा छैनन् । सबै हात्तीहरू मेलामा नै केन्द्रीत भएका छन् ।

हात्तीहरू वनभोज खान जाँदाको दृश्य निकै मनोरम थियो । त्यहाँ उपस्थित सबै पर्यटकहरू निकै उत्साहित भएर कौतुहलतापूर्वक हात्तीको वनभोज अवलोकन गर्न व्यस्त देखिन्थे । वनभोजमा हात्तीलाई मन पर्ने खानेकुराहरू बनाइएको थियो ।

१२ औं चितवन हात्ती महोत्सवको अवसरमा सोमबार हात्ती क्याट वाक, टाँडा दौड, गाडा र डुंगा दौड जस्ता कार्यक्रम गरिएका छन् भने सुन्दरी प्रतियोगिता पनि गरिएको छ । हात्ती महोत्सव बुधबारसम्म चल्नेछ ।


  •  
  •  
  •