काठमाडौँ, ७ पुस : सर्वोच्च अदालतले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियुक्त छविलाल पौडेललाई धरौटीमा छाड्ने पुनरावेदन अदालत हेटौंडाको आदेशलाई उल्ट्याइदिएको छ ।
न्यायाधीश गिरिशचन्द्र लाल र दीपकराज जोशीको इजलाशले आज अपरान्ह जारी गरेको आदेश अनुसार अब पौडेललाई थुनामै राखेर मुद्दाको पुर्पक्ष अघि बढाउनु पर्नेछ ।
सुरुमा जिल्ला अदालत चितवन र त्यसपछि पुनरावेदन हेटौंडाले अभियुक्त पौडेललाई छाड्ने आदेश दिएको थियो । त्यसविरुद्ध मृतककी आमा गंगामाया अधिकारीले सर्वाेच्चमा निवेदन दिएकी थिइन् ।
त्यसमाथि अन्तिम सुनुवाइ गर्दै सर्वाेच्चले पौडेललाई थुनामा राख्न भनेको हो । अभियुक्तलाई कारबाहीको माग गर्दै अधिकारी दम्पति तीन वर्षअघि आमरण अनसनमा बसेका थिए । अनसनकै क्रममा मृतकका पिता नन्दप्रसादको ज्यान गएको १४ महिना भएको छ । गंगामाय भने अहिले पनि अनसनमा छन् ।
– कान्तिपुर दैनिकाबाट