फिलिप ह्युजको सम्झनामा नेपाल र अष्ट्रेलियाका क्रिकेट खेलाडीको भिडन्त

199
  •  
  •  
  •  

काठमाडौं, २८ चैत (ओएनएस) : बलले लागेर निधन भएका अस्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको सम्झनामा आज श्रद्धाञ्जलि खेल हुँदैछ । किर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विहान ११ बजेपछि सुरु हुने उक्त खेल ३१ दशमलव ३ ओभर पालीको हुनेछ ।

ह्युजले आफ्नो अन्तिम टेस्टमा अविजित ६३ रन बनाएकाले दुवै पालीलाई मिलाएर ६३ ओभरको खेल हुन लागेको नेपाल क्रिकेट संघका प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले बताइन् ।

उनले भनिन्, ‘नेपाल क्रिकेट संघ (क्यान) को पहलमा यो खेल हुन लागेको हो । यो खेलमा नीलो र रातो टिम हुनेछन् । नीलो टोलीको नेतृत्व नेपालका पूर्वराष्ट्रिय कप्तान विनोद दासले गर्नेछन् । रातो टोलीको नेतृत्व अस्ट्रेलियाको प्रथम श्रेणी क्रिकेटर रायन कार्टर्सले गर्नेछन् ।’

ह्युजले एकदिवसीय अन्तराष्ट्रिय र टेस्टमा लगाउने टिसर्ट र उनले प्रयोग गर्ने ब्याटलाई आरोही दलमार्फत सगरमाथाको चुचुरोमा पुर्याउने पनि कार्यक्रम छ । क्रिकेट अष्ट्रेलियाका अध्यक्ष अध्यक्ष वेल्ली एडवार्डसले आजै ह्युजले एकदिवसीय अन्तराष्ट्रिय र टेस्टमा लगाउने टिसर्ट र उनले प्रयोग गर्ने ब्याट हस्तान्तरण गर्ने घिमिरेले बताइन् ।

अध्यक्ष एडवार्डसले नेपालमा हरेक वर्ष यो खेल आयोजना गर्न आफूले सहयोग गर्ने बताएका छन् । सुरुवातमा अस्ट्रेलियन टोली र नेपाली टोलीबीच यो खेल हुने बताइए पनि अस्ट्रेलियन खेलाडीको व्यस्तताका कारण नीलो र रातो टिम बनाइएको क्यानले जनाएको छ ।

huge_pm

१६/१६ खेलाडी रहेको टोलीमा २८ जना नेपाली खेलाडी छन् । कार्टर्सले नेतृत्व गर्ने नीलो टोलीमा अस्ट्रेलियाका पूर्व यु १९ राष्ट्रिय कप्तान टिम एन्डर्सन र पूर्वटेस्ट खेलाडी म्याथ्यु थोमस ग्रे एलियट पनि हुनेछन् । यसैगरी यो टोलीमा हककङ राष्ट्रिय टोलीका वर्तमान प्रशिक्षक तथा अस्ट्रेलियाका पूर्वस्थानीय खेलाडी चार्ली बुर्क पनि हुनेछन् ।

नीलो टोलीमा नेपाली राष्ट्रिय टोलीका वर्तमान कप्तान पारस खड्कासहित अनिल मण्डल, विनोद भण्डारी, शक्ति गौचन, प्रदीप ऐरी, करन केसी, नरेश बुढाएर, अविनाश कर्ण, भुवन कार्की, महेश क्षेत्री, अमित श्रेष्ठ, राहुल विश्वकर्मा र रामनरेश गिरी, सञ्जम रेग्मी र दीपेन्द्र चौधरी पनि हुनेछन् ।

रातो टोलीमा शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, वसन्त रेग्मी, पृथु बाँस्कोटा, सिद्धान्त लोहनी, सोमपाल कामी, जितेन्द्र मुखिया, राजेश पुलामी, राजवीर सिंह परेश लोही र प्रज्वल शाही पनि छन् । यही खेलबाट नेपाली टोलीका पूर्वकप्तान विनोद दासले अन्तर्रााष्ट्रिय क्रिकेटबाट औपचारिक संन्यासको घोषणा गर्ने कार्यक्रम रहेको छ ।


  •  
  •  
  •