मुस्लिम न्यायाधीश हिन्दुशास्त्रमा पीएचडी

258
  •  
  •  
  •  

काठमाडौं ५ पुस ।

मुस्लिम समुदायको पवित्रग्रन्थ कुरान पढेर अल्लाहको प्रार्थना गर्ने पाटन पुनरावेदन अदालतका न्यायाधीश सलाहुद्दिन अख्तर सिद्दिकीले हिन्दुशास्त्र ‘मनुस्मृति’मा विद्यावारिधि पूरा गरेका छन्।

‘शोधकार्य पूरा गरी बुझाइसकेको छु’, ५९ वर्षीय सिद्दिकीले शुक्रबार अन्नपूर्ण पोस्ट्सँग भने, ‘एकदुई दिनमै विद्यावारिधिको उपाधि लिने तयारीमा छु।’ शोधकार्य सुरु गरेको तीन वर्षपछि नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि उपाधि लिने तरखरमा छन् सिद्दिकी। आफू हिन्दुशास्त्रमा विद्यावारिधि गर्ने पहिलो मुस्लिम भएको उनले बताए।

हिन्दु सामाजिक तथा कानुनी व्यवस्थाका पिता मानिने मनुले विश्वको प्राचीन सामाजिक तथा न्यायिक व्यवस्था विश्लेषण गर्न मनुस्मृति रचना गरेका हुन्। यो हिन्दुको अठार स्मृतिमध्ये एक हो। यस ग्रन्थलाई मानव धर्मशास्त्र मानिन्छ।

मनुस्मृतिमा उल्लिखित व्यवस्थाका आधारमा प्राचीन परिवार व्यवस्थित भएको थियो। मनुस्मृतिले पारिवारिक एवं सामाजिक व्यवहारका लागि दिशा प्रदान गरेको सिद्दिकीको निष्कर्ष छ।

विद्यावारिधिका लागि किन उनले मनुस्मृति नै छाने त?

‘न्यायाधीश भएपछि नेपाली कानुन अध्ययन गर्दा ८० प्रतिशत हिन्दुशास्त्रबाट प्रभावित पाएँ, धर्मसंस्कृतिले कसरी कानुन प्रभावित पारेको रहेछ भनेर जिज्ञासा उठ्यो’, उनी भन्छन्, ‘फेरि मनुस्मृति विश्वप्रसिद्ध ग्रन्थ पनि हो।’

उनले शोधमा मनुकालीनन पारिवारिक व्यवस्था र नेपालको पारिवारिक विवादको विश्लेषण गरेका छन्। सामाजिक सुव्यवस्थाका लागि मनुस्मृतिको रचना भएको उनले बताए।

‘आज पनि विवाह, सम्बन्धविच्छेद र अंशजस्ता विषयमा पारिवारिक विवाद बढिरहेको छ’, उनले भने, ‘यस्ता विवादका कारक तत्त्वको पहिचान र समाधानमा प्रभावकारी उपाय पत्ता लगाउन मनुस्मृति अध्ययन अपरिहार्य छ।’

परिवारका सदस्यको कर्तव्य, अधिकार र दायित्वबीच सन्तुलन भएमात्र शान्ति सम्भव रहेको ठहर उनको छ। पारिवारिक एवं सामाजिक विभेद हटाएर सद्भाव बढाउन आफ्नो शोधले मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे।

पारिवारिक कानुन धर्मसँग जोडिएकाले यसले आधुनिक नेपाली कानुनमा पारेको प्रभावको अनुसन्धान गरेर न्याय पद्धतिमा सुधार गर्न सकिने लक्ष्य सिद्दिकीको छ। मनुस्मृति बुद्धिवद्र्धक, यशोवद्र्धक र आयुवद्र्धक रहेको निष्कर्षमा उनी पुगेका छन्।

शोधका क्रममा हिन्दु धर्मशास्त्र अध्ययन गर्न दाङ, काठमाडौं, बनारस, हरिद्वार, दिल्ली, लखनउ, वृन्द्रावनलगायतका पुस्तकालय चहारेको उनले बताए।
नेपालमा बहुसंख्यक हिन्दु अनुयायी भएकाले हिन्दु धर्मशास्त्र बुझ्नु जरुरी ठान्छन् उनी।

आयातित संस्कृति अनुशरण गर्दा मौलिकता परिवर्तन भई अन्तत: मानवअधिकारको स्वरूप फेरिने उनको बुझाइ छ। अन्तर्राष्ट्रिय महासन्धि पालना गर्दा धार्मिक आस्था र सांस्कृतिक मान्यता प्रभावित हुने तथा धर्मसंस्कृति पालना गर्दा अन्तर्राष्ट्रिय सन्धि पालना नहुने गम्भीर अन्तरविरोध रहेको उनी बताउँछन्।

आफ्नो शोधले धर्म, संस्कृति र अन्तर्राष्ट्रिय महासन्धिबीच समन्वय गरी मानवअधिकार रक्षा गर्ने कानुन निर्माण गर्न सहयोग पुग्ने विश्वास उनको छ। ‘न्याय पद्धतिमा सुधार गर्दै पारिवारिक र सामाजिक शान्ति नै मनुस्मृति शोधको उद्देश्य हो’, सिद्दिकीले भने।

करिब ३० वर्ष कानुन व्यवसायमा बिताएका सिद्दिकी २०६६ भदौमा पुनरावेदन न्यायाधीश नियुक्त भएका थिए। नेपालगन्जमा स्थायी घर रहेका उनले समाजशास्त्रमा स्नातकोत्तर, विज्ञानमा स्नातक र कानुनमा एलएलबी गरेका छन्।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •