फिदिम, ४ पुस : वाइवाई छैठौं फाल्गुन्द फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । नेपालका १६ औं राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको स्मृतिमा लाग्दै आइरहेको फाल्गुनन्द गोल्डकपको खेलतालिका आयोजक फिदिम स्पोर्टिङ क्लवले विहिवार सार्वजनिक गरेको हो ।
पूर्वी पहाडी जिल्लाको सबैभन्दा ठूलो पुरस्कार राशी भनिएको उक्त प्रतियोगिता पुष १५ गतेदेखि पाँचथर सदरमुकाम फिदिम स्थित फिदिम उच्च माविको मैदानमा खेल हुने छ ।
यसवर्ष नेपालका ६ सहित भारत र भुटानका गरी ८ वटा टिमले सहभागिता जनाउने बताइएको छ । जसको उद्घाटन खेलमा पुष १५ गते अनारमनी फुटबल क्लव झापा र ताप्लेजुङ जिल्ला फुटबल संघ, १६ गते फ्यान्स क्लब भुटान र उर्लावारी फुटबल क्लब मोरङ, १७ गते आयोजक फिदिम स्पोर्टिङ क्लब र कञ्चनजंघा फुटबल क्लब भारत तथा १८ गते शसस्त्र प्रहरी बल दमक झापा र चर्च व्याइज फ्यान्स क्लब काठमाडौबीच प्रतिश्पर्धा हुने आयोजक सस्था फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।
खेलमा पहिलो हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैंया नगद दोस्रो हुनेले ५५ हजार ५ सय ५५ रूपैंया नगद पुरस्कार ट्रफी प्रमाण पत्र र मेडल पाउने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगिताको कुल लागत २० लाख रुपैंया लाग्ने अनुमान गरिएको आयोजक संस्थाले जनाएको छ ।