‘फागु पूर्णिमाले सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकतामा सघाउ पुगोस्’

357
  •  
  •  
  •  

काठमाडौं, ६ चैत्र(ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा (होली) पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्दै कामना दिएकी छन् ।

फाइल तस्बिर

फागु पूर्णिमाका अवसरमा राष्ट्रपति भण्डारीले शुभकामना सन्देश मार्फत सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गर्दै यस पर्वले सबैमा नयाँ उमंग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्दै कामना व्यक्त गरेकी छन् ।

सन्देशमा नेपालको मौलिक पहिचान स्थापित गराउँदै राष्ट्रपतिले सांस्कृतिक पर्यटनमार्फत मुलुकको आर्थिक समृद्धि हासिल गर्न टेवा पुग्ने बताएकी छन् ।
होलीजस्ता पर्वले अमूल्य संस्कृतिहरुको संरक्षण र प्रवद्र्धनमा सकारात्मक भूमिका निर्वाह गर्न सबैमा उनले शुभकामना मार्फत आग्रह गरेकी छन् ।

यसैबीच फागु पूर्णिमाको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्रका हामी नागरिक भाषा, कला, संस्कृतिले अत्यन्तै धनी रहेको बताएका छन् ।

एक शुभकामना सन्देश दिँदै पुनले काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली भेगमा फागु पूर्णिमाको दिन र तराई–मधेशमा भोलिपल्ट भव्यरुपमा मनाइने यस पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, सद्भाव, समृद्धि र निरन्तर प्रगतिको कामना गरेका छन् ।

उपराष्ट्रपति पुनको सन्देशमा भनिएको छ, ‘शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको यस सुखद समयमा आउने यस पर्वले सप्तरंगी जस्तै रंगीन नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास लिएको छु ।’

सप्तरंगी रंग जस्तै समृद्धिका विभिन्न आधारको तीव्र विकासका माध्यमबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अभियानलाई सार्थक बनाउन सबै नेपालीलाई प्रेरणा दिने विश्वाससमेत आफूले लिएको उनको भनाइ छ ।

सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा खुशी र हषोल्लासपूर्वक रंगमा रमाएर होली पर्व मनाउने प्रचलन रहेको सन्देशमा उल्लेख गरिएको छ ।


  •  
  •  
  •