इन्धन अभावका कारण विमानस्थल सञ्चालनमा कठिनाई

102
  •  
  •  
  •  

काठमाडौँ, ११ कात्तिक : डिजेल,पेट्रोल अभावका कारण अत्यावश्यक सेवाको सूचीमा पर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा कठिनाई भएको छ । विमानस्थलका महाप्रवन्धक देवआनन्द उपाध्यायले यस्तै अवस्था रहे अन्तर्राष्ट्रिय र आन्तरिक उडान सेवा नै ‘बन्द’ हुन सक्ने खतरा रहेको बताए ।

‘विमानस्थल भनेको विशुद्ध प्राविधिक कार्यालय हो । यहाँको काम ‘हाइली स्टे्रसफुल’ हुन्छ । एउटै कर्मचारीलाई ‘टेवुल वर्क’ जस्तो दिनभर खटाउन मिल्दैन । इन्धन अभावका कारण कर्मचारीलाई कार्यालय आउन समस्या हुन थालेको छ,’ उनले भने । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा सिफ्टमा कम्तीमा सय कर्मचारी काम गर्छन् ।

यसमा अधिकांश कर्मचारी राडर, कन्ट्रोल टावर, टर्मिनल लगायतका प्राविधिक क्षेत्रमा काम गर्ने प्राविधिकहरु छन् । जहाज उडाउन र अवतरण गराउन उनीहरुको महत्वपुर्ण भूमीका रहन्छ । निजी सवारी साधन भएका प्राविधिकले इन्धन अभावका कारण बेलैमा कार्यालय पुग्न नसकेको तथा सार्वजनिक सवारी प्रयोग गर्नेहरुले घन्टौं कुर्दा पनि साधन नपाइने गुनासो गरिरहेका छन् ।

प्राविधिकहरुको गुनासोपछि विमानस्थलले आयल निगमसँग इन्धन मागेको थियो । तर, निगमले पत्रमार्फत इन्धन माग्दा पनि नदिएको महाप्रवन्धक उपाध्यायले बताए । ‘कर्मचारी साथीहरु कोही २/३ दिन लाइन बसेर इन्धन जोहो गरेर आइरहेका छन्, केहीले कालोबजारीबाट किन्न बाध्य हुनुपरेको बताइरहेका छन् । स्टाफ ओसार्ने सवारी साधन पनि गुडाउन सकिएको छैन,’ उनले भने ।

विमानस्थलमा चरा धपाउने, रनवे र संकेत बत्तीहरुको अवस्था चेकजाँच गर्ने गाडी पनि चलाउन कठिन भएको उनले बताए । एयरपोर्ट अपरेशन डिभिजनका अनुसार, यतिबेला विमानस्थलमा चराको गतिविधि देखा पर्ने समय हो । अघिल्लो साता धावनमार्गमा एकाएक चराको गतिविधि देखीएपछि अवतरण हुनै लागेको थाई एयरको विमानले ओभरसुट गर्नुपरेको थियो । त्यसयताका एयर अरबिया लखनउ डाइभर्ट भएको थियो भने टर्किस र इन्डिगोको उडान पनि प्रभावित भएको थियो । डिभिजनका अनुसार, अघिल्लो साता शिकारीहरुले ७ वटा चरा मारेका थिए ।

तर, इन्धन अभावका कारण एयर-साइड-भ्याकिल पहिले जस्तो धेरै चलाउन नसकिएको डिभिजनका एक प्राविधिकले बताए । भारतले लगाएको नाकावन्दीका कारण भएको इन्धन अभावका कारण विमानस्थललाई मात्र नभई विमान कम्पनीहरुलाई पनि सेवा प्रवाह गर्न कठिनाई भइरहेको छ । यती एयरले विमान कर्मचारीलाई समयभन्दा धेरै चाडो नै ओसर्ने गरेको जनाएको छ भने बुद्ध एयरले ट्राभल एजेन्सीको भ्यानबाट ओसार्ने गरेको छ । ‘विमानस्थलमा मात्रै काम गर्ने ३ सय हाराहारी कर्मचारी छन केहीलाई भाडाको गाडीमा ओसार्ने गरेका छौ, केहीलाई एक दिन काम अर्को दिन विदा गरेर प्रवन्ध मिलाइरहेका छौं,’ बुद्ध एयरका निर्देशक रुपेश जोशीले भने ।

दशै, तिहार र पर्यटकीय सिजन शुरु भएकाले विमानस्थलमा यतिबेला हवाईजहाजको आवागमन बढदो छ । आइतबारको तथ्यांक अनुसार, काठमाडौंमा आउने र बाहिर जानेगरी त्यसदिन २ सय ६४ वटा आन्तरिक र ७० वटा अन्तराष्ट्रिय उडान भएका थिए । विमानस्थलमा रहेको आयल निगमको डिपोले महिनायता अन्तर्राष्ट्रिय उडानलाइ इन्धन बिक्रि रोकेको छ । इन्धन नदिने निणर्यपछी अन्तराष्ट्रिय विमानहरु भारतको लखनउ, दिल्लीमा अवतरण गरेर इन्धन भर्दै काठमाडौं उडान गरीरहेका छन भने कोरियाबाट आउने विमानले बैंककमा टेक्निकल अवतरण गरेर इन्धन भरीरहेको छ ।

यता मंगलबारदेखि उडान सूचारु गर्ने भनेको चिनियाँ विमान चाइना इस्ट्रनले फेरी उडान तालिका शुक्रबारसम्मकालागि स्थगन गरेको छ । इन्धन अभावकै कारण चीनबाट काठमाडौं आउने चाइना साउदर्नले पनि उडान सुचारु गरीसकेको छैन । उसले तिहारपछी मात्रै आउने भनेको छ ।
– कान्तिपुर दैनिकबाट


  •  
  •  
  •