‘भारतसँग पेट्रोलियम पाइपलाइन सम्झौता छिट्टै’

169
  •  
  •  
  •  

नयाँ दिल्ली, चैत्र २८ – भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म ४१ किलोमिटर पेट्रोलियम पाइपलाइन निर्माण गर्न यसबारेको द्धैपक्षीय सम्झौतामा छिट्टै हस्ताक्षर हुने भएको छ ।

निजी भ्रमणमा दिल्ली आएका बाणिज्य तथा आपुर्ती मन्त्री सुनिल थापाले बढीमा तीन साताभित्रमा पाइपलाइन निर्माण समझदारीपत्रमा हस्ताक्षर भैसक्ने जानकारी दिएका छन् । सम्झौताका लागि भारतीय पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानले काठमाडौं भ्रमण गर्ने सहमती जनाएका छन् ।

‘भारत सरकारले यो परियोजनाका लागि २ अर्व भारु बजेट बिनियोजन गरेको छ, हाम्रोतर्फ अमलेखगन्जमा आवश्यक पुर्वाधार निर्माणमा ७५ करोड रुपैया छुट्याउनुपर्ने व्यवस्था तय भएको छ,’समझदारी पत्रको अन्तिम रुपबारे जानकारी दिंदै मन्त्री थापाले भने-‘३० महिना भित्रमा यो परियोजनाको निर्माण पुरा भैसक्नेछ ।’

उनका अनुसार पहिलो चरणमा ५ बर्षका लागि पेट्रोलियम पदार्थ भारतबाट ल्याउन सहयोगी रहने पाइपलाइन योजनामा त्यसपछिको आवश्यकता हेरीकन थप ५ बर्षको अवधी बिस्तार हुन सक्नेछ । भारत सरकारले संकेत गरेअनुसार रक्सौलस्थित पेट्रोलियम डिपोलाई एक बर्षपछि मोतीहारी जिल्लामा सार्ने तयारी भैरहेकाले पनि पाइपलाइन योजनालाई दुबै देशले तदारुकतामा राखेका हुन् । यो पाइपलाइनबाट ग्यासबाहेकको इन्धन पदार्थ निर्यात हुन सक्नेछ ।

आ-आफ्नो देशले तयार गरेको समझदारी पत्र अहिले मन्त्रीपरिषद्मा पेश भैसकेको जानकारी दिंदै थापाले निजी भ्रमण क्रममा भएपनि दिल्लीस्थित सरोकारसम्बद्ध निकायमा योजनाबारे ‘फलो-अप’ गरिने बताए । गत महिना संसदीय अध्यन तथा सुझाव समितिले पनि यो योजनामा सरोकार राख्दै सरकारले प्राथमिकताका साथ सम्झौता कार्यान्वयन अघि बढाउनुपर्ने निर्देशन दिएको थियो । ‘अमलेखगन्जसम्मको पाइपलाइन परियोजनालाई अर्को चरणमा काठमाडौंसम्म बिस्तार गर्नेबारे पनि छलफल भैरहेको छ,’मन्त्री थापाले भने-‘तर तराइबाट काठमाडौंसम्म जोड्ने फास्ट ट्र्याक वा सुरुङ मार्गको निक्र्यौल भएपछि एकैसाथ पाइपलाइनको योजना अघि बढ्न सक्नेछ ।’

पाइपलाइनबाट तेल आयात गर्न थालेपछि इन्धनको चुवाहट तथा मिसावटको सम्भावना कम भएर जाने तथा ढुवानी आधारमा मुल्यमा पनि कमी आउने बिज्ञहरुको सुझाव रहीआएको छ ।

कान्तिपुरबाट


  •  
  •  
  •