‘तेल चोर’ छुटाउने हडतालमा निगमकै सहयोग

95
  •  
  •  
  •  

 काठमाडौं २७ भदौ ।

तेल चोर’ लाई नपक्रन दबाब दिँदै पेट्रोलियम ढुवानी व्यवसायीले गरेको हडताललाई आयल निगमले नै सघाउ पुर्‍याएको पाइएको छ। गैरकानुनी माग राखेर हडतालमा उत्रिएका व्यवसायीलाई कारबाही गर्नुको साटो निगमले हडताल उल्लंघन गर्दै तेल उठाउन चाहने व्यवसायीलाई असहयोग गरेर ‘तेल चोरी’ मा सघाउ पुर्‍याएको हो।

पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघले तेल चोरेको आरोप लागेका आफ्ना केन्द्रीय सल्लाहकार चोपनारायण श्रेष्ठलाई नपक्रन दबाब दिँदै बिहीबार तेल ढुवानी ठप्प पारेको थियो । आन्दोलनको विपक्षमा रहेका व्यवसायीले तेल उठाउन चाहे पनि निगमकै उच्च अधिकारीले रोेकेको स्रोत बताउँछ ।

‘धेरै व्यवसायीले तेल उठाउन चाहेका थिए, तर निगमबाट कुनै हस्तक्षेप नभएपछि उनीहरुको मात्र केही सीप चलेन,’ एक व्यवसायीले भने, ‘निगम अग्रसर भइदिएको भए हडताल विफल हुन्थ्यो, तेल उठाउन समस्या नै थिएन ।’

व्यवसायीको हडतालप्रति निगमले ‘नरम व्यवहार’ गरेको निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट स्वयं स्विकार्छन् ।

तेल चोरीमा संलग्नलाई छुटाउन गरिएको हडतालमाथि किन सघाएको भन्ने जिज्ञासामा भट्टले भने, ‘व्यवसायीले पूर्वनिर्धारित कार्यक्रम हो, सञ्चालन गर्न दिनुस् भने, त्यसैले नाइँ भन्न सकेनौं ।’

व्यवसायीको हडतालका कारण देशभरका कुनै पनि डिपोबाट तेल उठ्न सकेन ।

निगमस्रोतका अनुसार थानकोट डिपोबाट झन्डै ७० जना व्यवसायीले तेल उठाउन चाहेका थिए । तर, यो आन्दोलनलाई नैतिक समर्थन गरेको नेपाल पेट्रोलियम पदार्थ डिलर्स एसोसिएसनले समेत तेल उठाउन चाहनेलाई रोकेको थियो । महासंघका पदाधिकारीले तेल उठाए भौतिक कारबाही हुनेसम्म चेतावनी दिएको स्रोतले जनायो ।

महासंघ अध्यक्ष खगेश्वर बोहराले सरकारले माग सम्बोधन नगरे ३१ गतेबाट ट्यांकरको साँचो बुझाउने बताए । ‘राज्य आफैंले चलाउँछ भने चलाओस्,’ उनले भने, ‘तर हामी चलाउन सक्दैनौं, तेलको बिमा र ढुवानी भाडा वृद्धि नगरेसम्म आन्दोलन रोकिँदैन ।’ तेलचोर आरोप लागेका श्रेष्ठबारे गृह मन्त्रालयसँग वार्ता भइरहेको उनले बताए । ‘दोषीलाई कारबाही गर्नुपर्छ,’ उनले भने, ‘निर्दोषलाई दोषी बनाएर कारबाही गर्न मिल्दैन ।’

अत्यावश्यक वस्तु र सेवामा हडताल गर्न नपाइने कानुनी व्यवस्था अवज्ञा गर्दै व्यवसायी हडतालमा उत्रेका हुन् ।

श्रेष्ठलाई छुटाउन व्यवसायीदेखि निगमसम्म संग्लन भएको उपभोक्ता अधिकारकर्मीले बताएका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव ज्योति बानियाँले अत्यावश्यक वस्तुमा हडताल गर्दासमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग चुप लागेर बस्न नमिल्ने बताए ।

‘उपभोक्तालाई प्रत्यक्ष असर पर्ने कुरामा अख्तियार किन मौन बसेको छ ?’ उनले भने, ‘तत्काल अग्रसरता देखाएर हडतालमा उत्रने व्यवसायीलाई कारबाही गर्नुपर्छ ।’

भदौ २१ गतेबाट गैरकानुनी रुपमा आन्दोलन थालेको महासंघले बिहीबार तेल नउठाउने कार्यक्रम रहेको थाहा पाउँदा–पाउँदै निगम र वाणिज्य तथा आपूर्ति मन्त्रालय मूकदर्शक बनेको बानियाँले बताए ।

‘पूर्वनिर्धारित कार्यक्रम हो भने सरकारले हस्तक्षेप गर्नुपर्दैन ?’ उनले भने, ‘तेल चोर छुटाउन निगम, मन्त्रालय सबै मिलेका छन् ।’

वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले वार्ताको माध्यमबाट ढुवानी व्यवसायीको समस्या हल गरिने बताए । ‘तेल चोरीमा संलग्नलाई छुटाउने विषयमा गृह मन्त्रालयले कुरा गर्छ,’ उनले भने, ‘नौवटा मागमात्र हामीसँग सम्बन्धित छन्, दसौं नम्बरको माग गृह मन्त्रालयसँग सम्बन्धित छ, हामी गर्न सक्दैनौं ।’

निगमस्रोतका अनुसार महासंघले अन्य माग देखाएर श्रेष्ठलाई छुटाउन लागेको हो । चोपनारायणलाई छुटाउन सरकार सहमत भए आन्दोलन स्थगित हुने निगमले जनाएको छ । महासंघका सल्लाहकारसमेत रहेका श्रेष्ठविरुद्ध प्रहरीले जारी गरेको पक्राउपुर्जी फिर्ता गराउन महासंघले हडतालको सहारा लिएको हो । दसंैतिहारजस्ता ठूला पर्वलाई लक्षित गरी महासंघले हडताल गरेर सरकारलाई घुँडा टेकाउन खोजेको देखिन्छ । नागरिकबाट


  •  
  •  
  •