तेल लिन काठमाडौँबाट केरूङ हिँडे १२ ट्यांकर

113
  •  
  •  
  •  

काठमाडौँ, १३ कात्तिक(ओएनएस) : चीनले उपलब्ध गराउने अनुदानको पेट्रोलियम पदार्थ लिन शुक्रबार नेपाल आयल निगमबाट १२ वटा ट्यांकर केरूङ्का लागि हिँडेका छन् ।

भारतले अघोषित नाकाबन्दी लगाउँदै इन्धनमा कटौती गरेपछि अभाव भएको इन्धनको पूर्ति गर्नका लागि चीनले दिने भनिएको अनुदानबापतको तेल लिन पहिलो चरणमा १२ हजार लिटर बोक्न सक्ने १२ वटा ट्यांकर केरूङका लागि हिडेको हो ।

भारतीय आयल निगमसँगमात्रै इन्धन लिँदै आएको नेपाल आयल निगमले पहिलोपटक उत्तरी छिमेकी मुलुक चीनबाट सडकमार्ग हुँदै तेल भित्र्याउन लागेको हो ।

यस्तै, बेइजिङमा रहेको नेपाली टोलीले चीनबाट इन्धन ल्याउन त्यहाँको सरकारी टोलीसँग दुई पक्षीय समझदारीपत्र (एमओयू)मा बुधबार अपराह्न हस्ताक्षर गरेको थियो । इन्धन खरिदमा भारतसँगको एकाधिकार तोडिएको छ ।

समझदारीअनुसार चीनबाट तत्कालका लागि नेपालमा खपत भइरहेको परिमाणमा बढीमा एक तिहाइ ल्याइने छ । बाँकी दुई तिहाइ भारतीय कम्पनीबाटै ल्याउने निगमको योजना छ । चीनबाट ल्याउने इन्धन रसुवागढी र तातोपानी दुवै नाकाबाट उपलब्ध गराउने र सीमासम्म चीनले नै ढुवानी गरिदिने छ ।

निगमले आईओसीबाट युरो–३ मापदण्डको इन्धन आयात गरिरहेको अवस्थामा चीनले थप गुणस्तर अर्थात् युरो–४ मापदण्डको पेट्रोल दिन लागेको हो । निगमका अनुसार उपत्यकामा दैनिक ३ सय ५० किलोलिटर पेट्रोल र साढे ४ सय किलोलिटर डिजेलको माग छ ।


  •  
  •  
  •