निगमले थुपार्‍यो सवा दुई करोड लिटर तेल

177
  •  
  •  
  •  

काठमाडौं ५ फागुन । नाकाबन्दी अघिभन्दा बढी मौज्दात भारतीय नाकाबन्दीअघि (भदौ मसान्तमा) नेपाल आयल निगमको देशभर रहेका डिपोमा करिब एक करोड ९० लाख लिटर (१९ हजार किलोलिटर) इन्धन थियो । देशभरका नौ डिपोमा अहिले दुई करोड १८ लाख २६ हजार लिटर इन्धन मौज्दात छ । डिजेल एक करोड ३४ लाख ९९ हजार लिटर र पेट्रोल ३५ लाख ९२ हजार लिटर छ ।

निगमले इन्धन वितरणमा नियन्त्रण गरेपछि मौज्दात बढेको हो । निगमसँग धेरै परिमाणमा इन्धन भए पनि वितरण बढाएको छैन । निगमले नाकाबन्दीयता तीनपटक निजी सवारीलाई इन्धन दिएको छ । त्यस्तै, ११ मंसिरदेखि अत्यावश्यक सेवाका सवारी साधनलाई कोटा तोकेर इन्धन वितरण हुादै आएको छ ।

मागको १४.२८ प्रतिशत पेट्रोल वितरण

निगमले उपत्यकामा पेट्रोल मागको १४.२८ प्रतिशत र डिजेल करिब ५० प्रतिशत वितरण गर्दै आएको छ । अहिले दैनिक दुई लाख ५० हजार लिटरका दरले पेट्रोल वितरण गर्दा उपत्यकामा रहेको मौज्दातले हप्ता दिनसम्म धान्न सकिन्छ भने डिजेल करिब १० दिनसम्म वितरण गर्न सकिन्छ । निगमले सोमबार उपत्यकामा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, साझा र नेसनल ट्ेरडिङका पम्पबाट ५० हजार लिटर पेट्रोल वितरण गरेको छ । अन्य दिन पनि यही परिमाणमा वितरण हुँदै आएको छ । त्यस्तै, डिजेल औसतमा दुई लाखदेखि दुई लाख ५० हजार लिटरसम्म वितरण भइरहेको छ ।

थानकोट डिपो भरियो,६ ट्यांकर बाहिरै

निगमको थानकोट डिपोको पेट्रोल भण्डारण गृह भरिएको छ । थानकोटको डिपोमा मुस्किलले १६ लाख लिटर अटाउने भण्डारण गृह रहेकामा १५ लाख ८६ हजार लिटर पेट्रोल मौज्दात छ । सोमबार साँझ काठमाडौं आइपुगेकामध्ये ६ ट्यांकर पेट्रोल खन्याउन नपाई राखिएको प्रवक्ता घिमिरेले बताए । ‘थानकोटको डिपो भरिएकाले ६ वटा पेट्रोल बोकेका ट्यांकर त्यसै बसेका छन्,’ उनले भने, ‘ती ट्यांकरलाई सीधै पम्पमा लैजान्छौँ ।’ आयातमा ठूलो समस्या छैन देशभर पेट्रोल दैनिक ११ लाख लिटर र डिजेल २६ लाख लिटर खपत हुने गरेको छ । यो खपतलाई हेर्दा पछिल्ला दिनमा आयात सामान्य बन्दै गएको देखिन्छ । निगमको देशभरका डिपोमा आइतबार पेट्रोल पाँच लाख ६४ हजार लिटर र डिजेल १९ लाख ४४ हजार लिटर खन्याइएको छ जुन खपतको तुलनामा आधा परिमाण हो ।

बुधबारबाट मोटरसाइकललाई इन्धन

आयल निगमले बुधबार, शुक्रबार र सोमबार तीन दिन दर्ता नम्बर (लट) का आधारमा पेट्रोल बाँड्ने जनाएको छ । पाँच लिटरका दरले पेट्रोल वितरण हुनेछ । निगमले बुधबार १ देखि ३० लट, शुक्रबार ३१ देखि ५० र सोमबार ५१ लटभन्दा माथिका मोटरसाइकल–स्कुटरलाई इन्धन दिने जनाएको हो । नाकाबन्दीयता निगमले चौथोपटक निजी सवारीसाधनलाई कोटा तोकेर इन्धन दिन लागेको हो । नयाँपत्रिकाबाट


  •  
  •  
  •