प्रहरी पम्पबाटै तेल ठगी

193
  •  
  •  
  •  

काठमाडौं ४ चैत । गुणस्तर र परिमाणमा उपभोक्ताले बढी विश्वास गर्ने प्रहरीद्वारा सञ्चालित पम्पबाटै तेलको परिमाणमा ठगी हुँदै आएको खुलेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको अगुवाइमा मंगलबार भएको बजार अनुगमन क्रममा प्रहरीद्वारा सञ्चालित नक्सालस्थित पेट्रोल पम्पबाट उपभोक्तालाई तेलको परिमाणमा ठगी भइरहेको खुलेको हो।

कम तेल वितरण गरेको भेटेपछि प्रहरी पम्पका नोजल बन्द गराइएको वाणिज्य विभागका निरीक्षण अधिकृत ढुण्डीराज पोखरेलले बताए। अनुगमन क्रममा प्रहरी प्रधान कार्यालय, नक्सालबाहिर सञ्चालित पम्पबाट बिक्री हुने प्रत्येक १० लिटर पेट्रोलमा १ सय १० एमएल कम भेटिएको थियो। आयल निगमले तोकेको मापदण्डअनुसार २५ एमएलभन्दा कम हुनु हुँदैन। तोकिएको परिमाणभन्दा कम भए ठगी मानिन्छ।

टोलीले मंगलबारै सेनाद्वारा भद्रकालीमा सञ्चालित रिपमुर्दिनी पम्पमा पनि अनुगमन गरेको थियो। त्यहाँका ६ मध्ये एउटा नोजलबाट हुने बिक्रीमा प्रत्येक १० लिटरमा ४० एमएल कम पाइयो। यो पनि मापदण्डभन्दा कम हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शान्तराज सुवेदीले सरकारी पम्पमै समस्या रहेको गुनासो आएपछि अनुगमन गरिएको बताए।

‘हामीकहाँ सरकारी पम्पमै समस्या रहेको गुनासो आएको थियो,’ उनले मंगलबार नागरिकसँग भने, ‘त्यसैलाई आधार मानेर अनुगमगन गर्दा पुष्टि भयो, जनताले विश्वास गरेर तेल हाल्न जाने सरकारी पम्पमै ठगी हुनु दुःखद हो।’
उपभोक्ताले निजी पम्पभन्दा प्रहरी र सेनाद्वारा सञ्चालित पम्पमा बढी विश्वास गर्छन्। त्यही भएर अन्यत्रभन्दा त्यहाँ बढी भीड लाग्छ। सरकारी निकायले नै कम परिमाणको तेल बिक्री गर्दा निजी व्यवसायीबाट हुने अनियमितताले प्रश्रय पाउने अधिकारीहरू बताउँछन्।

सुवेदीका अनुसार नक्सालस्थित प्रहरी पम्पका दुई नोजलबाट १ सय १० एमएल तेल कम झरेको छ भने अर्को नोजलमा प्राविधिक खराबी पाइएको छ। अनुगमनपछि तीनैवटा नोजल सिल गरिएको उनले जानकारी दिए।
‘तेस्रो नोजलमा देखिएको प्राविधिक खराबी पहिचान हुन सकेको छैन्,’ सुवेदीले भने, ‘गुणस्तर तथा नापतौल विभागको रिपोर्ट हेरेपछि थाहा हुन्छ।’

नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले तीनपटकसम्म परीक्षण गर्दा परिमाण कहिले कम र कहिले बढी देखिएको बताए। अनुगमन टोलीले भनेजस्तो १० लिटरमा १ सय १० एमएल नै कम नभएको दाबी गर्दै उनले भने, ‘७५ एमएलसम्म कम भएको हो, परीक्षण रिपोर्ट बाहिर आएपछि सत्यतथ्य खुल्नेछ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, वाणिज्य विभाग, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभागको संयुक्त टोलीले अनुगमन गरेको थियो। ‘हामीले नोजल मेसिन पनि बेलाबेला परीक्षण गराइरहेका छौं,’ बमले भने, ‘के भएर यस्तो भएको हो, केही भन्न सक्ने अवस्था छैन।’

नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले पनि रिपुमर्दिनी पम्पका ६ मध्ये एउटा नोजलमा समस्या आएको स्वीकार गरे। ‘के कसरी यस्तो भएको हो, अनुसन्धानले देखाउला,’ उनले भने, ‘अहिल्यै के भएको हो भन्ने अवस्था छैन।’
पम्पमा बसेका कर्मचारीले जानाजान बिगार्ने भए ६ वटै नोजल बिगार्नुपर्ने उनको भनाइ छ। ‘कर्मचारीले गर्दैनन् भन्ने होइन, तर एउटामा मात्र कसरी यस्तो भयो,’ उनले भने, ‘हामी आफैं पनि अनुसन्धान गर्नेछौं। कर्मचारीले नै गलत नियत राखेर गरेका भए उनीहरूलाई तत्काल कारबाही हुनेछ।’ सेनाको पम्पमा अहिलेसम्म कहिल्यै यस्तो समस्या नदेखिएको उनले दाबी गरे। नागरिकबाट


  •  
  •  
  •