खासमा यति घट्नु पथ्र्यो तेलको मूल्य

199
  •  
  •  
  •  

काठमाडौं ५ फागुन ।
अन्तर्राष्ट्रिय बजारमा सन् २०१४ यता तेलको मूल्यमा ७० प्रतिशत गिरावट आए पनि नेपालमा त्यसअनुसार मूल्य समायोजन हुने गरेको छैन । १४० रुपैयाँ प्रतिलिटरबाट ७० प्रतिशत घट्दा नेपाली बजारमा पेट्रोलको मूल्य जम्मा ४२ रुपैयाँ हुनुपथ्र्यो, तर कुनै वेला घाटामा गएको पैसा उठाउन मूल्यवृद्धि गर्ने आयल निगमले अहिले न्यायोचित रूपमा मूल्य नघटाई कर्मचारीलाई बोनस खुवाउने तयारी गरेको छ ।

भदौ १५ यता मात्रै पनि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल २० डलर घट्दा नेपालमा पेट्रोलियमको मूल्य प्रतिलिटर २० रुपैयाँसम्मले घट्नुपर्ने थियो । तर, नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी प्रतिलिटर पेट्रोलमा ५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा समान ६ रुपैयाँ मात्रै घटाएको छ । त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य ६७ रुपैयाँ १२ पैसा घटाएको छ ।

मूल्य घटेपछि प्रतिलिटर पेट्रोल ९९ रुपैयाँ, डिजेल तथा मट्टीतेल समान ७५ रुपैयाँ र आन्तरिक हवाई इन्धन एक सय ६४ रुपैयाँ ८८ पैसा कायम भएको छ ।

कच्चा तेलको मूल्य १२ वर्षयताकै न्यून

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १२ वर्षयताकै न्यून बिन्दुमा आइपुगेको छ । सोमबार साँझसम्म कच्चा तेलको मूल्य २७.६७ डलर प्रतिब्यारेलमा झरेको छ ।

अमेरिका र युरोपियन युनियनले लगाएको आर्थिक नाकाबन्दी फिर्ता गरेपछि इरानले थप निर्यात गर्दा कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्यमा अझै गिरावट आउने अनुमान छ ।  नयाँपत्रिकाबाट


  •  
  •  
  •